२० वर्ष नपुग्दै विवाह : अधिकांश बच्चा कुपोषित

ज्ञानमाण्डू।सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह बन्धनमा बाँधिन पुगिन् । उनी एक वर्षमै बच्चाको आमा बनिसकेकी छिन । सुत्केरी हुन स्वास्थ्य संस्था पुग्नुभएकी उनलाई स्वास्थ्य संस्थाले थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा पठायो । प्रदेश अस्पताल सुर्खेतमा उनको बच्चा जन्मियो तर, बच्चा कम तौलको थियो । उनको बच्चाको तौल जम्मा एक किलो ७०० ग्राम मात्रै छ । १५ दिनकी सुत्केरी उनी राम्रोसँग बोल्न पनि सकेकी छैनन् । “लामो व्यथा लागेकाले मलाई केही थाहा भएन”, उनले भनिन् , “बच्चाको अवस्था कस्तो छ र हुनुपर्ने कस्तो हो त्यो विषयमा केही थाह छैन ।” विद्यालय पढ्दापढ्दै गाउँकै एक युवकसँग प्रेम विवाह भयो, कलिलो अवस्थामा आमा बनेकी उनलाई आमा हुँदा के–के गर्नुपर्छ राम्रोसँग जानकारी छैन ।

१७ वर्षमा विवाह बन्धनमा बाँधिएकी सुर्खेत वीरेन्द्रनगर–६ की तुलसा सिंहको पहिलो सन्तान जीवित रहेन । गर्भवती भएको सात महिनामै जन्मिएको बच्चा बचाउन नसकिएको उनले बताइन् । पहिलो सन्तान बितेको एक वर्षको अन्तरालमा लगातार दुई वटा सन्तान जन्मिए । 

पहिलो सन्तान छोरा जन्मिएको एक वर्षपछि छोरी जन्माइन् तर, उनको छोरी कुपोषित भइन् । वर्षेनी बच्चा जन्माइरहने र आमालाई पोषणको कमी हुँदा उनका जन्मिएका बच्चा कुपोषित भएका हुन् । “राम्रोसँग बच्चालाई खुवाउने दूध नआएकाले छोरीलाई कुपोषण भयो”, उनले भनिन्, “छोरीले दूध खुवाउँदा पनि नखाने गर्नाले पनि कुपोषण भयो छोराको त अवस्था ठिकै छ ।” छोरी कुपोषण भएपछि उनी उपचारको लागि प्रदेश अस्पतालको पोषण पुनः स्थापना गृहमा पुगिन् । अहिले उनले विगत एक महिनादेखि पुनःस्थापनागृहबाट छोरीको उपचार गराइरहेकी छिन् । 

दैलेख पाचिकाडाकी सुन्तली शर्मा पनि कुपोषित बच्चालाई पुनःस्थापनागृहमा राखेर उपचार गराइरहेकी छिन् । सुन्तलीको १८ वर्षको हुँदा विवाह भयो १९ वर्षको हुँदा पहिलो सन्तानलाई जन्म दिइन्, “मेरो उमेर नपुगेर मैले विवाह गरे बच्चा जन्माउने बेला धेरै पीडा भयो”, उनले भनिन्, “घरमा घाँस दाउरा गरिरहनुपर्ने कामैकाम दूध खुवाउने पनि फुर्सदै पाइन ।” उनले न त आफूले पोषिलो खाना खान पाइन् न त छोरीलाई राम्रोसँग दूध खुवाउन । यसले गर्दा उनको छोरीलाई कुपोषण भयो । 

कर्णाली प्रदेशमा कलिलै उमेरमा विवाह गरेका आमाबाट जन्मिएको अधिकांश बच्चामा कुपोषणको समस्या देखिएको छ । कम उमेरमा बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने विषयमा जानकारी नहुँदा कम उमेरमा बच्चा जन्माउने प्रवृत्ति अन्त्य हुन सकेको छैन । 

कर्णाली प्रदेशको प्रदेश अस्पतालको पोषण पुनः स्थापना गृहमा २० वर्षमुनिका बच्चाको आमा प्रायः आउने गरेका छन् । पुनः स्थापना गृहका प्रमुख प्रभा सिंहले पुनः स्थापना गृहमा आउने अधिकांश आमा २० वर्षमुनिको रहेको जानकारी दिए । “हामीले आमाको छुट्टै रेकर्ड नराखे पनि यहाँ आएकालाई सोधपुछको क्रमबाट पनि उनीहरू २० वर्षमुनिका रहेको पाइन्छ”, उनले भने, “यस वर्षबाट बच्चासँगै आमाको पनि छुट्टै रेकर्ड राख्ने तयारी गरेका छौँ ।” 

पोषणगृहको तथ्याङ्कअनुसार यस आर्थिक वर्षको साउनयता ६० बालबालिका उपचार गर्न पोषणगृहमा आएको छन् ।ती मध्ये २१ बालिका र ३९ बालक रहेका छन् । शीघ्र कुपोषण भएका ३१ र मध्यम कुपोषण भएका २९ बालबालिका थिए । प्रमुख सिंहका अनुसार ४७ बालबालिका निको भएर गएका र छलाई अन्यत्र रिफर गरिएको छ । कुपोषणमा प्रायः पाँच वर्षमुनिका बालबालिका पर्ने गरेको जनाइएको छ । 

आव २०७५/०७६ मा मात्रै गृहमा १०३ बालबालिका आएका थिए । “कुपोषण पुनः स्थापना गृहमा आएका आमा र बालबालिलाई हामीले विभाजन गरेर राख्ने गरेका छौँ” सिंहले भने, “अघिल्लो वर्ष शीघ्र कुपोषण भएका ६५ र मध्यम कुपोषण भएका ३८ आएका थिए कोही पूर्णरुपमा निको भएर गए भने कोहीबिचमै भागेर गएका थिए ।” 

कर्णालीमा बालविवाहको दर बढ्दो छ । प्रसूति हुन स्वास्थ्य संस्थामा आउने एक चौथाइभन्दा बढी किशोरी रहेको तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी सीता शर्माका अनुसार नगरपालिकामा प्रसूति हुने झन्डै आधा सङ्ख्या २० वर्षमुनिको आमा रहेको बताइन् । “सुर्खेतमा बालविवाहको अवस्था भयावह छ”, उनले भनिन्, “जसले गर्दा कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या धेरै छ । सानै उमेरमा बच्चा जन्माएका कारण पहिलो त आमा र बच्चाको ज्यान नै खतरामा पर्ने गर्दछ । बाचेका बच्चा पनि कुपोषित हुनुको साथै विभिन्न रोग तथा सङ्क्रमणबाट ग्रसित हुने गरेका छन् ।”

प्रदेश अस्पतालका प्रमुख डा डम्बर खड्काका अनुसार अस्पतालमा प्रसूतिमा जटिलता आउने अधिकांश २० वर्षमुनिका रहेको बताए । “म आफैँले यो अस्पतालमा काम गरेदेखि यता धेरै डेलिभरी महिलाको अप्रेसन गरेको छु जुन १९ वर्ष भन्दा मुनिका आमाहरु धेरै छन्”, उनले भने, “बच्चाको उनीहरूको जन्म अन्तर पनि खासै फरक देखिँदैन ।” अस्पतालमा आउने धेरै आमालाई जन्म अन्तर कम्तीमा पनि पाँच वर्षको फरक पार्नु पर्छ भनेर सल्लाह दिने गरेको अस्पतालले जनाएको छ । 

“पहिलो र दोस्रो बच्चाको जन्मान्तर छोटो समय मात्र राख्नु यो ठाँउको संस्कारको रूपमा विकास भएको छ जस्तो लाग्छ”, प्रमुख डा खड्काले भने, “यसलाई राज्य स्तरबाट कानुनी बाटो नअपनाए यसले भविष्यमा ठुलो खतराको रूप लिन पनि सक्छ ।” 

बालविवाहको विषयमा विद्यालय तहबाटै पाठ्यक्रममा समावेश गरेर अध्यापन गराउनुपर्ने जरुरी रहेको डा अर्चना कार्कीले बताइन् । “म आफू एक डाक्टर मात्रै होइन म एक आमा पनि हो”, उनले भनिन्, “त्यसैले अहिले गाउँ गाउँमा युवायुवतीलाई छिटो विवाह गरे पछि के हुन्छ र धेरै ढिलो विवाह गरे के हुन्छ यसको बारेमा सरकारको तर्फबाट शिक्षा दिन जरुरी छ ।” 

बाल रोग विशेषज्ञ डा नवराज केसीले भने, “बालविवाह अन्त्य गर्न राज्य स्तरबाट नसोच्ने हो भने आउने पिँढी पुरै बौद्धिकता गुमाएको हामी भेट्ने छौँ । बच्चा कस्तो बनाउने र त्यसलाई कस्तो शिक्षा दिने यी सबै कुरा आमाको हातमा भएकोले विशेष गरी आमाले धेरै कुराको ध्यान दिन जरुरी रहेको छ ।”रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x