पहिलो पटक लगानी बहस आयोजना

ज्ञानमाण्डू। पर्वत जिल्लामा नयाँ व्यावसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलो पटक लगानी बहस कार्यक्रम आयोजना गरिने भएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा भोलि बिहीबार लगानी बहस कार्यक्रम आयोजना गर्न लागिएको हो । 

पछिल्लो समयमा साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा थप लगानीका क्षेत्रहरूको खोजी र लगानी सुनिश्चित गर्न बहस कार्यक्रम आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष केदारनाथ शर्माले बताए । पर्वतमा खानी उद्योग सञ्चालन, पर्यटन उद्योग, कृषि जन्य उद्योग तथा जलविद्युत्का क्षेत्रमा नयाँ लगानी भित्र्याउने उद्देश्य राखिएको छ । 

लगानी बहस कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्य, महासङ्घका पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठ तथा कुशकुमार जोशी र प्रतिष्ठित व्यवसायी शेखर गोल्छाले भाग लिने कार्यक्रम रहेको कार्यक्रमको संयोजन गरिरहनुभएका पवसंघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिए । 

बहस कार्यक्रममा पर्वतको फलाम खानी उत्खनन र माटेमा रहेको स्लेट ढुङ्गा खानी, कुस्मा बजार र आसपास रहेका पर्यटकीय क्षेत्रमा सिसाको पुल, रक क्लाइम्बिङ, हेलिकप्टर, अल्ट्रालाइटजस्ता साहसिक पर्यटनका थप पूर्वाधार र होटेल रिसोर्टमा लगानी, पर्यटकीय क्षेत्रहरूमा केबुलकार बनाउने, लप्सी प्रशोधनका ठुलो उद्योग सञ्चालन गर्ने र काली गण्डकी र मोदी खोलामा थप जलविद्युत् आयोजनाहरूको विकासका लागि लगानीको खोजी गर्ने उद्देश्य राखिएको छ । 

पोखराबाट नजिक रहेको, काली गण्डकी कोरिडोर र मध्य पहाडी लोक मार्गको ट्रान्जिट प्वाइन्टमा रहेका कारण पर्वतमा उद्योगहरूको स्थापना, खानी उद्योगको सञ्चालन, पर्यटनका नयाँ नयाँ गन्तव्यको विकास गर्न सकिने सम्भावना छ । पर्वतका कालञ्जर क्षेत्र, कुस्मा क्षेत्र, पञ्चासे, डहरे, महाशिला क्षेत्र र काली गण्डकी किनारमा धेरै पर्यटकीय सम्भावना भएकाले साहसिक र धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । यसबाहेक लगानीका अन्य क्षेत्रका बारेमा पनि बहस कार्यक्रममा छलफल हुने र लगानीको आश्वासनसमेत आउने विश्वास लिइएको अध्यक्ष शर्माले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x