गैँडाकोटमा नयाँ होटल सञ्चालन

ज्ञानमाण्डू।भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै गैँडाकोटको नारायणी बिजनेस ग्रुपले दोस्रो होटेल सञ्चालनमा ल्याएको छ । चितवन र नवलपरासीमा होटेल क्षेत्रमा अनुभवी छ जनाको समूहले गैँडाकोट नगरपालिका–२ स्थित राजमार्गमा होटेल द नारायणी प्रालि सञ्चालनमा ल्याएको हो । 

यसअघि यसै समूहले नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याएको थियो । ग्रुपका अध्यक्ष प्रभाकर पण्डितका अनुसार हाल सञ्चालनमा ल्याइएको होटेलमा ध्वनि प्रदूषणरहित छ वटा बैठक तथा सभा हल, पार्टी हल, मनोरम वाटर फाउन्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकारसहितको रेष्टुराँ एण्ड बार, सुविधा सम्पन्न आठ वटा सुपर डिलक्स कोठा रहेका छन् । जग्गा भाडामा लिएर रु सात करोड लगानी गरी होटेल सञ्चालनमा ल्याइएको हो । 

काठमाडौँ, सौराहा र पोखरादेखि लुम्बिनी आवतजावत गर्ने पर्यटकलाई लक्षित गर्दै होटेल सञ्चालनमा ल्याएको उनले जानकारी दिए । सौराहा, देवघाट, मौलाकालिका मन्दिर, शाश्वतधाम, नारायणी नदीको रमणीय क्षेत्रजस्ता पर्यटकीय गन्तव्यको बिचमा रहेको भन्दै पर्यटन वर्षलाई होटेलले सहयोग  पुर्‍याउने विश्वास गरिएको छ । 

पूर्व पश्चिम राजमार्गसँगै जोडिएकाले पनि राजमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि सहज पहुँच होटेलका सञ्चालक वसन्त पराजुलीले जानकारी दिए । उनले समूहको पहिलो होटेल द नारायणी रिसोर्टमा यस क्षेत्रको सबैभन्दा ठुलो सभा हल र पार्किङको व्यवस्था भएकाले राष्ट्रिय ठुला कार्यक्रम धेरै हुने गरेको बताए । सो होटेलमा एक हजारभन्दा बढी क्षमताको सभा हल, साना सभा हल र २३ वटा कोठा रहेका छन् । नारायणी नदी किनारमा भएकाले धेरैको रोजाइमा यो होटेल पर्ने गरेको छ । विसं २०७४ मङ्सिर १ गतेबाट समूहले सो होटेल सञ्चालनमा ल्याएको थियो । 

भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । चितवमा चार लाख र नवलपरासीमा एक लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले यस क्षेत्रमा पर्यटक लक्षित होटेल सञ्चालनमा ल्याएर समूहले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताए। 

गैँडाकोट नगर क्षेत्रमा देवघाट धामसँगै मौला कालिका मन्दिर, कैलाश सन्यास आश्रम, लक्ष्मी नृसिंह दिव्य धाम, मणि मुकुन्दसेन दरबारजस्ता धार्मिक पर्यटकीय स्थल र नारायणी नदी रहेको भन्दै उनले यस्ता होटेलले पर्यटकको बसाई लम्ब्याउने बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x