सङ्कटमा परे हाते कागज उद्योग

ज्ञानमाण्डू।सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा दुई वर्षदेखि सञ्चालित एक नेपाली हाते कागज उद्योग सङ्कटमा परेको छ । करिब रु सात लाखको लगानीमा सञ्चालनमा आएको सिर्जना नेपाली हाते कागज उद्योग कच्चा पदार्थ, बजारको अभावलगायतका समस्याले सङ्कटमा परेको हो । 

उद्योग सञ्चालक बुद्धिमान बोहोराले उत्पादित कागजको नजिकै बजार नहुनु, समयमै कच्चा पदार्थ नपाउनु, ढुवानीको समस्या हुनुजस्ता कारणले उद्योग चलाउन मुस्किल परेको बताए । “लगानीअनुसार आम्दानी गर्न सकिएन, मुख्य समस्या कच्चा पदार्थ र उत्पादित कागजले बजार नपाउनु नै हो”, उनले भने, “कालिकोट, जुम्लाबाट लोक्ता ल्याउनुपर्छ, नजिकै लोक्ता नहुँदा ढुवानीमै ठुलो रकम खर्च गर्नुपर्ने अवस्थाले उद्योग घाटा बेहोर्नुपर्‍यो ।” लोक्ता कागज उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उद्योगबाट नोटबुक, डायरी, रजिष्ट्रार, फोटोकपी पेपर, गिफ्ट बक्स, गमलालगायत नेपाली हाते कागजका थुप्रै आकर्षक सामग्री उत्पादन हुँदै आएका छन् । 

नेपाली कागजको थुप्रै महत्त्व भए पनि गाउँघरमा यसको बजार नहुँदा समस्या भएको उनको गुनासो छ । उनले थुप्र पटक स्थानीय र प्रदेश सरकारलाई सहयोगका लागि आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएको बताए । उनका अनुसार , पहिला सम्भावना देखेर फरक व्यवसायका रूपमा कागज उद्योग सञ्चालन गर्ने सोच बनाएँ, अहिले लगानी नै डुब्ने अवस्था सिर्जना भयो, नगरपालिका र प्रदेश सरकारबाट बजारीकरणमा कुनै सहयोग पाइएको छैन । साथै उनले उद्योगलाई आधुनिक औजार तथा भण्डारणका लागि भौतिक संरचना आवश्यक परेको बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x