बन्दीपुरमा पर्यटक आगमन बढ्दै, सत्तरी प्रतिशत चिनियाँ पर्यटक

ज्ञानमाण्डू।पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यति बेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । चिसो मौसम सुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि भएको हो ।

बन्दिपुर घुम्न आउने पर्यटकमध्ये अहिले ७० प्रतिशत पर्यटक चिनियाँ रहेको बन्दिपुर पर्यटन विकास समितिले जनाएको छ । बन्दिपुर भ्रमणका लागि आउने करिब ५०० पर्यटकमध्ये ३५० भन्दा बढी पर्यटक चिनियाँ रहेको समितिका अध्यक्ष वैश गुरुङले जानकारी दिए । गुरुङका अनुसार चिनियाँका अतिरिक्त भारतीय र युरोपेली मुलुकका पर्यटक पनि बन्दीपुरमा आएका छन्।
अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढेको गुरुङले बताए । आन्तरिक तथा बाह्य पर्यटकको चापका कारण अङ्ग्रेजी नयाँ वर्षको अवसरमा बन्दीपुरमा कोठा पाउन मुस्किल हुने गरेको छ । “बन्दीपुरमा अहिले स्वदेशीभन्दा विदेशी पर्यटकको चाप बढी छ”, गुरुङले थपे । 

बन्दिपुर घुम्न आएकामध्ये अधिकांश पर्यटकले बन्दीपुरमा बास बस्ने गरेका छन् । बन्दीपुरमा वनभोजका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका छन् । बन्दीपुरमा ग्रिन पार्क, फेवा, गामघर, वोल्डईन, बन्दिपुर माउन्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिलेजलगायत साना ठुला गरी ५७ वटा होटेल तथा २२ वटा घर वास सञ्चालनमा छन् । ती सबै होटेलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन् । बन्दीपुरमा होटेलमा करिब १५० भन्दा बढीले रोजगारी पाएका छन् । 

बन्दिपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलको बारेमा जानकारी दिने गरिएको छ । यहाँ ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् । 
बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङखला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानी माई, तीन धारा, रानीवन, राम कोट, सुनाखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दिपुर उत्कृष्ट गन्तव्यको रूपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङखला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायत हिमशृङखला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । 

सुन्दर हिमशृङखलाको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकको पहिलो रोजाइमा बन्दिपुर पर्ने गरेको व्यवसायी राजु बानियाँले जानकारी दिए । बानियाँका अनुसार यहाँ आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेका छन् । “दुई/तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटक पनि यहाँ आइसकेपछि थप केही दिन नबसी फर्किँदैनन्”, बानियाँले उल्लेख गरे । 

यहाँ रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । काठका बुट्टा कुँदिएका झ्याल तथा ढोका, इँटा बाहिर देखिने प्यागोडाशैलीका घर यहाँको मुख्य आकर्षणका रूपमा रहेको थापाको भनाइ छ । 
अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दिपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउन निषेध गरेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x