ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडको एकीकृत कारोबार सुरु

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत वित्तीय कारोबार सुरुभएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले आज ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच दुई बैंकको संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् ।

एकीकृत भइसकेपछि ग्लोबल आइएमई बैंक पूँजी, व्यवसाय, शाखा संजाल समेतका हिसावले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । बैंकको प्राथमिक पूँजी करिब २४ अर्ब रुपियाँ (चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ र संचित कोष गरी), कुल निक्षेप २ खर्ब १३ अर्ब रुपियाँ र कुल कर्जा १ खर्ब ९४ अर्ब रुपियाँ भन्दा बढी पुग्नेछ । त्यस्तै ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा पुग्ने गरी बैंकको ३ सयभन्दा बढी शाखा, २५९ एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दाबढी सेवा केन्द्रबाट सेवा प्रदान गर्न सक्षम हुनेछ ।

कार्यक्रममा बौल्दै अर्थ मन्त्री डा. खतिवडाले मुलुकमा अर्थतन्त्रको संरचना परिवर्तन हुन लागेको बताउँदै देशले अल्पकालिन मात्र नभएर मध्यकालिन र दीर्घकालिन लगानी मागिराखेको बताए । “यसका लागि पनि ठूलो संरचना भएका वित्तीय संस्थाहरुको सञ्चालन सकारात्मक कुरा हो । यो मर्जरबाट देशका अरु पनि बैंक तथा वित्तीय संस्थाहरुले सिकुन्,” उनले भने ।
नेपाल राष्ट्र बैंकका गभर्रनर डा. चिरन्जीवि नेपालले बैैंक पुँजी लगायत सबै हिसाबले ठूलो वित्तीय संस्था बनेकोले त्यसै अनुरुप काम गर्न सुझाव दिएका छन् । “यो ठूलो वित्तीय संस्था भयो, पुँजी र सबै हिसाबले । अब निक्षेपकर्ताहरुको अपेक्षा पनि बढ्न जान्छ, त्यसैले त्यसतर्फ काम गर्नु,कुनै पनि संस्था ठूलो हुनुसँगै यसका चुनौतीहरु पनि बढ्छन् नै । त्यसैले खतरा या चुनौतीको व्यवस्थापनमा पनि ध्यान पुगोस,” उनले बताए । 

“बैंकहरुमा पछिल्लो समयमा धेरै कमजोरी देखिएका समाचार सुनिन्छ, यस्ता चुनौतीबाट बैंकलाई बचाउन डिजीटलाइजेसनमा बढी लगानी गर्नुपर्छ । यसका साथै आफ्ना कर्मचारीलाई समय सापेक्ष तालिम दिने, उनीहरुलाई अद्यावधिक गर्ने र सक्षम बनाउने काम पनि अघि बढाउनुप¥यो,” साथै नेपाल राष्ट्र बैंकको नीतिको पालना गरेकोमा खुशी व्यक्त गर्दै उनले यसबाट अरु बैंकहरुले पनि सिक्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक ठूलो हुनु भनेको सोही अनुरुप जिम्मेवारी पनि ठूलो हुनु रहेको जनाए  “अब बैंकको लगानीको क्षमता बढेको छ सोही अनुरुप पूर्वाधारका क्षेत्रमा पनि लगानी बढ्नुपर्छ,” उनले भने, “अब बैंकले उद्योगी व्यवसायीलाई कम ब्याजदरमा कर्जा प्रबाह गर्नुपर्छ ।”

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले एकीकृत भइसकेपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमताको वृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधन, प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि हुने बताए । उनले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज हुने बताउदै मर्जर तथा प्राप्तीमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको र मर्जर पछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।

जनता बैंक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले मुलुकको अर्थतन्त्र र जनसंख्याको तुलनामा बैंक तथा वित्तीय संस्था बढी भएपनि मुलुकको विकासका लागि आवश्यक ठूला परियोजनामा वित्तीय लगानी गर्न नसकिने अवस्था रहेकोले सबल र सक्षम बैंक बनाउन मर्जरमा गएको बताए । बैंकको पूँजी तथा निक्षेपको आकार ठूलो भएसँगै अबका दिनमा देशमा ठूला आयोजना अघि बढाउन सहयोग हुने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले जनाएका छन् । 

नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष विष्णु अग्रवालले बैंकको आकार ठूलो भएसँगै ठूला ठूला परियोजनामा विविधिकरण गरेर लगानी गर्नुपर्ने बताए । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बजारमा निक्षेप परिचालनमा बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेको अवस्थामा वाणिज्य बैंकहरु एकआपसमा मर्जरमा गएर राम्रो सन्देश दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x