आर्थिक सर्वेक्षणको तथ्यांक:आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने, गरीबीको रेखा घट्दो

ज्ञानमाण्डू।सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । तेस्रो चौमासिक तथ्यांकको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिवेदन प्रस्तुत तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए । 

अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिभामा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार सुरुका सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको टिप्पणी गरिएको छ ।राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेका कारणसमेत अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।

उनले चालू आवमा मुलुकका आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको जानकारी दिँदै कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको जानकारी दिए । विगत धैरै दशकमा पहिलो पटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको छ जसले राष्ट्रिय पूँजी निर्माणमा उल्लेख्य योगदान पुग्न सकेको छ ।

यस्तै आन्तरिक एवम् बाह्य लगानी आकर्षित गर्न भएका नीतिगत एवम् कानूनी सुधारको परिणाम दिगो एवम् उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै गएको प्रतिवेदनमा उल्लेख भएत पनि उच्च लगानीका लागि औद्योगिक तथा पूँजीगत सामानको आयात बढ्दै जाँदा र निर्यातको आकार सीमित हुँदा उच्च व्यापार घाटा कायमै रहेको चा । यसबाट शोधनान्तर स्थितिमा र विदेशी विनिमय सञ्चितिमा समेत चाप परेको सर्वेक्षणमा उल्लेख छ । तथापि यसका करण शोधनान्तर स्थितिमा र विदेशी विनिमय सञ्चितिमा समेत चाप परेको सर्वेक्षणमा उल्लेख छ । 

यस अघी तथ्यांक विभागले ६.८१ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेतापनी सरकारले चालु आर्थिक वर्षमा ७.० प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरेको छ । 

प्रतिव्यक्ति आम्दानी १ लाख १७ हजार पुग्ने:
कूल गार्हस्थ्य बचतको वृद्धिभन्दा कूल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानी बीचको अन्तर बढ्दै गएको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने अनुमान गरिएको छ । प्रतिव्यक्ति खर्च योग्य आय रू १ लाख ५५ हजार पुगेको अनुमान गरिएको छ । यस्तै चालू आर्थिक वर्ष कूल लगानी २९.० प्रतिशतले वृद्धि भई रु २१ खर्ब ५७ अर्ब हुने अनुमान छ । 

कुल सरकारी खर्च २.२ प्रतिशतले वृद्धि:
प्रतिवेदनमा उल्लेखित तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म कुल सरकारी खर्च आर्थिक वर्ष २०७४र७५ को सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब पुगेको छ ।

वैदेशिक ऋण र अनुदान घट्दै:
आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म अनुदान १३ अर्ब र ऋण ९३ अर्ब गरी थप १ खर्ब ७ अर्ब वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सार्वजनिक ऋण:
गत फागुनसम्ममा कूल सार्वजनिक ऋण रु ९ खर्ब ७८ अर्ब छ । यसमध्ये रु ३ खर्ब ८३ अर्ब ५९ करोड आन्तरिक ऋण र रु ५ खर्ब ९५ अर्ब बाह्य ऋण रहेको सर्वेक्षणमा उल्लेख छ ।

७१३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा:
प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ मा वित्तीय क्षेत्र स्थायित्वका सूचकहरु सबल रहेका दाबी गरिएको छ । गत फागुनसम्म ७१३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्नुका साथै बैंक तथा वित्तीय संस्थाको कुल शाखा सङ्ख्या चार हजार ७०१ पुगेको छ।

१८ प्रतिशत नागरिकमा बिमाको पहुँच:
बिमा व्यवसाय गर्ने कम्पनीको सङ्ख्यामा भएको वृद्धिसँगै बिमा व्यवसायको आकार र कारोवारमा विस्तार भएबाट यस आवमाको फागुनसम्म करिब १८ प्रतिशत नागरिकमा बिमाको पहुँच पुगेको छ । धितोपत्र बजार सुधारोन्मुख रहेको विषय पनि प्रतिवेदनमा उल्लेख छ ।

व्यापार घाटा:
यस्तै आर्थिक वर्ष २०७५७६ को फागुनसम्ममा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब पुगेको छ भने वस्तु आयात २३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४९ अर्ब पुगेको छ।। यस अवधिमा कुल वस्तु व्यापार घाटा रु ८ खर्ब ८८ अर्ब रहेको छ ।

शोधनान्तर स्थिति ५९ अर्ब घाटामा:
यसैगरी आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म शोधनान्तर स्थिति ५९ अर्ब घाटामा रहेको छ। यस अवधिमा चालु खाता १ खर्ब ९१ अर्बले घाटामा रहेको छ। आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ अर्ब पुगेको छ। यस अवधिमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जानेको संख्या ३५.९ प्रतिशतले घटेको जनाइएको छ ।

कुल ७७.८ प्रतिशत जनसङ्ख्यामा विद्युत् सुविधामा:
फागुनसम्म कुल जनसंख्याको ७७.८ प्रतिशत जनसंख्यामा विद्युत सुविधा पुगेको छ । १७ प्रतिशत जनसंख्यामा नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत सुविधा पुगेको देखिन्छ ।

उद्योगमा रु ११ अर्ब लगानी प्रतिबद्धता:
फागुनसम्म २१८ उद्योगमा रु ११ अर्ब लगानी प्रतिबद्धता भई थप ७ हजार ९५३ रोजगारी सिर्जना हुने अनुमान छ । स्वदेशी एवं विदेशी लगानीकर्ताको उत्साहमूलक सहभागिताका साथ लगानी सम्मेलन सम्पन्न भएको छ ।

११ लाख ७३ हजार पर्यटकको आगमन:
पर्यटक आगमनको दर पनि बढ्दो छ । सन् २०१८ मा स्थलमार्गबाट आएका भारतीय पर्यटक बाहेक ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । हवाईमार्गबाट आउने पर्यटकको संख्या ८२.८ प्रतिशत र स्थलमार्गबाट आउने पर्यटकको संख्या १७.२ प्रतिशत रहेको देखिन्छ ।

गरिबी १८.७ प्रतिशत:
निरपेक्ष गरीबीको रेखामुनि रहेका जनसङ्ख्या घटेर १८.७ प्रतिशतमा झरेको सर्वेक्षणको अनुमान छ । चालू आवमा प्रतिव्यक्ति आय रु १ लाख १७ हजार पुग्ने अनुमान गरिएको उक्त सर्भेक्षणमा प्रतिव्यक्ति खर्चयोग्य आय रु १ लाख ५५ हजार पुगेको अनुमान गरिएको छ ।

अन्य विकसका परियोजनाहरु:
फागुनसम्म १४ हजार १०२ किमी कालोपत्र, ७ हजार ८८१ कि.मी खण्डाश्मित र ९ हजार ४१० किमी कच्ची सडक गरी कूल सडकको लम्बाइ ३१ हजार ३९३ कि.मी रहेको छ । हुम्लाबाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन् ।

राष्ट्रिय गौरवका आयोजनामध्ये चालू आवभित्रै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनेछ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ ।

गत फागुनसम्म करीब ६ लाख ५ हजार निजी घरको निर्माण अघि बढेको छ भने २६२ सरकारी भवन, ४ हजार २०१ विद्यालय भवन, ६४३ स्वास्थ्य संस्था भवन, २२१ पुरातात्विक सम्पदा र १२४ सुरक्षा निकायका भवनको पुनःनिर्माण सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x