राष्ट्रिय मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्ने तयारी भइरहेको छ: ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय मर्यादाक्रममा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गर्ने व्यवस्थाका लागि सकारात्मक पहल भइरहेको जानकारी दिनुभएको छ । वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीको पनि मर्यादाक्रम निर्धारणका लागि आफूहरूले पहल गरेको र यसमा सरकार सकारात्मक रहेको बताउनुभयो ।
 
म्याग्दी उद्योग वाणिज्य सङ्घको २९ औँ वार्षिक साधारण सभालाई शनिबार बेनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “मैले निर्वाचनअघि गृहमन्त्री समक्ष यो प्रस्ताव राखेको छु, उहाँ सकारात्मक हुनुहुन्छ र चाँडै नै हामीले मर्यादाक्रम प्राप्त गर्ने अवस्था बनेको छ ।

ढकालले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष व्यवसायीको मर्यादाक्रमका विषयसहित मेला महोत्सव गर्ने अधिकार जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घलाई मात्र दिनुपर्छ भनेर महासङ्घले आग्रह गरेको जानकारी दिनुभयो ।

कोभिड महामारीपछि विश्वव्यापी रूपमा आर्थिक गतिविधि सङ्कुचन भएको र त्यसको सिधा प्रभाव नेपालमा परिरहेको उल्लेख गर्नुहुँदै ढकालले बैंकमा तरलता अभाव र कर्जा प्रवाह गर्न नसक्ने अवस्था अहिलेको मुख्य समस्या भएको बताउनुभयो । 

जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घको समस्याबारे आफूहरू जानकार रहेको र त्यसको समाधानका लागि महासङ्घको नेतृत्वले निरन्तर पहल गरिरहेको उहाँको भनाइ छ ।

“बैंकको ब्याजदर, करसम्बन्धी समस्या, व्यवसाय गर्दाका असजिलोलगायतका तपाईँहरूका अप्ठ्यारा हामीले बुझेका छौँ,” ढकालले भन्नुभयो, “यी विषयलाई सङ्घीय सरकारमा प्रधानमन्त्री, अर्थमन्त्री, पूर्व प्रधानमन्त्रीहरू तथा नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटेर समाधानका उपाय सुझाएका छौँ ।”

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूले जिल्लाभित्रका सम्भावित आयोजनामा सामूहिक भावनाका साथ अगाडि बढ्न सके लगानी जुटाउन सहज हुने सुझाव दिनुभयो ।

म्याग्दीका सम्भाव्य आयोजनाहरूका सम्बन्धमा आफू जानकार रहेको उल्लेख गर्नुहुँदै जलविद्युत्, पर्यटन प्रवर्द्धन जस्ता प्राकृतिक स्रोतको सदुपयोग गर्ने क्षेत्रमा सहकार्यका लागि उहाँले आग्रह गर्नुभयो ।

“कलेक्टिभ इन्भेस्टमेन्ट गरौँ, म आफैँ सघाउन तयार छु,” उहाँले भन्नुभयो, “स्थानीय, प्रदेश र सङ्घीय सरकारका तर्फबाट सहयोग भए आर्थिक विकासमा धेरै काम गर्न सकिन्छ ।”

आईएमई समूहका अध्यक्षसमेत रहनुभएका उद्यमी ढकालले सात वटै प्रदेशमा चन्द्रागिरिजस्तै पर्यटकीय पूर्वाधार बनाउन लागिपरेको जानकारी दिँदै पर्यटन, जलविद्युत् लगायतका क्षेत्रमा गैर आवासीय नेपालीलाई पनि सँगै अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x