बैङ्कको व्याजदार घट्दा हुने फाइदा बैङ्कबाट पाउने लाभांश भन्दा धेरै गुणा बढी हुन्छ: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताको लागि व्यवसायीले जथाभाबी बोल्न नहुने बताउनुभएको छ ।

शुक्रवार पर्वत उद्योग वाणिज्य सङ्घको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारण सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीहरूले भोटका लागि गैरजिम्मेबाररुपमा चर्को र जथाभाबी बोल्न नहुने कुरा बताउनुभएको छ ।


“हामीले हुललाई खुसी पार्नको लागि व्यवहारिक रूपमा सम्भव नहुने त्यस्ता केही लोकप्रिय कुरा गर्न सकिन्छ,"  उहाँले भन्नुभयो ।

उहाँले व्यवसायी साथीहरूले चुनावी फण्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गर्नुभयो ।

"तपाई हामीले चुनावमा भोटका लागि यस्ता मिठा मिठा कुरा त गरौँला । तर भोलि यसलाई कसरी निष्कर्षमा पुर्‍याउने भन्ने बारेमा पनि हामीले सोच्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।

कोभिड र रसिया–युक्रेन युद्धलगायत समस्याहरूले गर्दा नेपालको अर्थतन्त्रमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै उहाँले अब बिस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गर्नुभयो ।


“अर्थतन्त्र अप्ठ्यारोमा थियो तर अहिले सुधारोन्मुख छ,” उहाँले भन्नुभयो, “बिस्तारै धेरै कुरामा सुधार देखिन सुरु भएको छ । हामी व्यवसायीको जस्तो सुकै अप्ठ्यारो परिस्थितिमा पनि किञ्चित नहडबडाई निरन्तर सेवा प्रदान गर्ने गरेको इतिहास छ । हामी धेरै निराश हुनुहुँदैन । नैरश्यताले हामी आफैलाई नै समस्यामा पार्छ ।”

आफू एउटा बैङ्कको सञ्चालक भएको नाताले धेरै ठाउँमा पटक पटक बैङ्कको ब्याजदर को विषय उठाउने गरेको बताउँदै उहाँले धेरै व्यवसायी साथीहरूलाई कुनै एउटा बैङ्कको सञ्चालकको चाहनाले मात्र बैङ्कको ब्याजदर परिवर्तन हुने भ्रम रहेको बताउनुभयो ।

“धेरै व्यवसायी साथीहरूलाई के भ्रम रहेको छ भने म वा कुनै एउटा बैङ्कको सञ्चालकले घटाइदिने हो भने ब्याजदर घट्न सक्छ । यसले त्यसो नगरेर यसले बैङ्कको मात्र पक्षपोषण गरेको छ । तर म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैङ्क वा बैङ्कको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन । म आफैलाई पनि बैङ्कको ब्याजदर घट्दा हुने फाइदा मैले बैङ्कबाट पाउने लाभांशभन्दा धेरै गुणा बढी हुन्छ,” उहाँले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगरका व्यवसायीहरूको हक, हित र संरक्षणका लागि आफूहरू लागिरहेको र निरन्तर लागि रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


“हामीले हाम्रो निरन्तर प्रयासका बाबजुद धेरै नीतिगत कुराहरूमा सुधार ल्याएका छौ । प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा अर्थमन्त्री र गभर्नरज्यूहरूसँगको निरन्तर पैरवी पछि हाम्रा केही मागहरू सम्बोधन भएका छन् । यसकालागि हामी फेरि पनि निरन्तर लाग्ने नै छौँ,” उहाँले भन्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x