सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्या समाधान गरौँ, वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको संवेदनशील परिस्थितिमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको पाँचौँ प्रदेश सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “अहिले कसैले कसैलाई आरोप लगाउने अवस्था नै छैन । बैङ्कलाई पनि असजिलो छ । व्यवसायीहरूलाई झन् धेरै असजिलो छ । सरकारको पनि राजश्व उठेको छैन । त्यसैले सबैलाई समस्या परेको छ । सबै मिलेर यसको समाधान निकाल्नुको विकल्प छैन ।”


उहाँले महासङ्घ भित्र पनि एकता भयो भने मात्र यो समस्याको समाधान सहज हुने हुनाले महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सरकार, व्यवसायी, उपभोक्ता सबै पक्ष मिलेर अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो “अहिले कुनै व्यक्तिको जित हारको अस्वस्थ छैन । समग्र अर्थतन्त्रको जित हारको अवस्था हो । हामी सबै मिलेर अर्थतन्त्रलाई जिताउन पर्नेछ । यसलाई पुनः सही ट्र्याकमा ल्याउनुपर्नेछ । त्यसैले हामी सबै एक हुनुको विकल्प छैन । सबै मिलेर एकसाथ अगाडि बढ्नुको विकल्प छैन । म साथीहरूलाई भन्न चाहन्छु । एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप लगाएर मात्र समस्याको समाधान हुन सक्दैन ।”

उहाँले सरकार तथा राजनैतिक दलहरूले आर्थिक एजेन्डालाई प्राथमिकतामा नराखेको गुनासो समेत गर्नुभयो ।

“अहिले सरकारले पनि पूर्णता पाइसकेको अवस्था छैन । नयाँ संविधान आइसकेपछि हामीलाई लागेको थियो, अब सायद राजनैतिक एजेन्डा सकिए । आर्थिक एजेन्डाले प्राथमिकता पाउनेछन् । तर, राजनैतिक दलको व्यवहारमा आर्थिक एजेन्डा प्राथमिकतामा नपरेको महसुस हुन्छ,” उहाँले भन्नुभयो ।

बैङ्कले लगानी गरेकै कारण व्यवसायीहरूलाई व्यवसाय गर्न सहज भएको बताउँदै उहाँले बैङ्क विरुद्धमा आन्दोलन गरेर अहिलेको समस्या समाधान हुन नसक्ने बताउनुभयो ।

“बैङ्कको विरुद्धमा आन्दोलनका कार्यक्रमहरू भएका छन् । मलाई लाग्छ, आन्दोलनबाट मात्र अहिलेको समस्या समाधान हुन सक्दैन । अहिलेको असहज परिस्थितिमा आन्दोलन भन्दा वार्ता, छलफल र सहकार्यबाट यसको सहज समाधान निस्कन सक्छ,” उहाँले भन्नुभयो ।

कोरोनाभाइरसका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउँदै उहाँले कोरोनाभाइरसका कारण वैदेशिक रोजगारमा जाने क्रम घट्दा, नेपाल फर्किएका कामदारहरू तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताउनुभयो ।

त्यस्तै, बाह्य पर्यटकको सङ्ख्या घट्दा र बैङ्कमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरू खुम्चिन बाध्य भएको उहाँले बताउनुभयो ।
उहाँले अर्थतन्त्रका केही कुराहरूमा सुधार आएको बताउँदै अर्थतन्त्र अहिलेको अवस्थाभन्दा नबिग्रने विश्वास व्यक्त गर्नुभयो ।

“वैदेशिक रोजगारमा जानेको सङ्ख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ । र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने मलाई विश्वास छ,” उहाँले भन्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x