मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्‍याउँछ, वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय वस्तु तथा सेवाको उत्पादन तथा बजारीकरणमा मेला महोत्सवको महत्त्वपूर्ण भूमिका रहने बताउँदै मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने समेत बताउनुभयो ।

महोत्तरीको बर्दिबासमा आयोजित चौथो बर्दिबास महोत्सवलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “मेला महोत्सवको मुख्य उद्देश्य नै स्थानीय वस्तु तथा सेवाको उत्पादन, वितरण र बजारीकरण गर्ने हो । यसले स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । स्थानीय उत्पादनहरूलाई उपभोक्ताहरूसम्म पुर्‍याउँछ । मेला महोत्सवको आयोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान समेत गराउँछ ।"


अहिलेको असहज परिस्थितिमा मेला महोत्सवको आयोजनाको विशेष महत्त्व रहेको बताउँदै ढकालले मेला महोत्सवको आयोजनामा महासङ्घको साथ र सहयोग रहने प्रतिविद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले कोरोनाभाइरस महामारीपछि मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरू बिस्तारै सहज हुँदै गएको समेत बताउनुभयो ।

“कोरोनाभाइरसपछि मुलुकको अर्थतन्त्रमा केही समस्याहरू देखिएका थिए । बैंकिङ्ग क्षेत्रमा लगानी योग्य तरलताको अभाव रहन गयो । रेमिट्यान्सको आप्रवाहमा कमी आयो भने नेपाल आउने पर्यटकको सङ्ख्या कम हुँदा विदेशी मुद्रा संचितिमा पनि कमी हुन गयो । तर अहिले रेमिटेन्स उत्साहजनकरुपमा बढेको छ । पर्यटनमा पनि सुधार देखिएको छ भने बैंकिङ्ग क्षेत्रमा तरलताको पनि क्रमशः सहजता देखिन थालेको छ । यसले गर्दा अर्थतन्त्रमा सकारात्मक सङ्केतहरू देखिएका छन् । मलाई विश्वास छ यसमा थप सुधार हुँदै जान्छ,” उहाँले भन्नुभयो ।

व्यवसायीहरूमा धेरै नै नैराश्यता देखिएको बताउँदै उहाँले व्यवसायीहरूलाई निराश नहुन समेत आग्रह गर्नुभयो ।

“व्यवसायीहरू भनेको जस्तो सुकै असहज परिस्थितिमा पनि सहज र सकारात्मक हुने वर्ग हो । त्यसैले अहिलेको असहज परिस्थितिमा पनि हामीहरू संयमित भएर व्यवसाय गर्नुको विकल्प छैन । संयमित भएरै यसबाट पार पाउने हो,” उहाँले भन्नुभयो ।

उहाँले महासङ्घको आगामी चैत्र २८ र २९ गते हुने ५७औँ अधिवेशनबाट आउने नयाँ नेतृत्वले व्यवसायीहरूका समस्याको समाधान गर्न पहल गर्ने बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x