बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक छ, ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताउनुभयो ।

मङ्गलवार भारतको कलकत्तामा बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्च विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्ग जस्ता पूर्वाधारको आवश्यकता रहेको बताउनुभयो ।

यसका साथै, हवाई तथा डिजिटल कनेक्टिभिटी बढाउन, विद्यमान कनेक्टिभिटी पूर्वाधारमा सुधार गर्न र नयाँ पूर्वाधारहरू निर्माण गर्न बिमस्टेकमा रहेका देशहरूले संयुक्त रूपमा लगानी गर्न आवश्यक छ, उहाँले भन्नुभयो ।

सहज ढुवानीका लागि सडक तथा बन्दरगाह जस्ता भौतिक पूर्वाधारको वृद्धि गर्नु आवश्यक रहेको बताउँदै उहाँले क्षेत्रीय मूल्य शृङ्खलाको विकासमा सहयोग पुर्‍याउन पूर्वाधारको विकास र स्तरोन्नति गर्न संयुक्त प्रयास गर्न सकिने बताउनुभयो ।

“ऊर्जासँग सम्बन्धित पूर्वाधारको विकास र ऊर्जा व्यापार सहित क्रस बोर्डर ऊर्जा सहयोग प्रवर्द्धनले क्षेत्रीय मूल्य शृङ्खलाहरूमा बढिमात्रामा ऊर्जा आवश्यक पर्ने उद्योगहरूको विकासलाई सहयोग पुग्न सक्छ । उदाहरणका लागि, नेपाल–बङ्गलादेश र भारतले नेपालको जलविद्युत बङ्गलादेशसम्म निर्यात गर्न जलविद्युत प्रसारण लाइनमा काम गरिरहेका छन् । यसले नेपालमा उत्पादित बिजुली भारत हुँदै बङ्गलादेशसम्म पुग्नेछ । यसलाई बिमस्टेकका अन्य राष्ट्र र त्यसभन्दा बाहिर पनि विस्तार गर्न सकिन्छ ।” ढकालले भन्नुभयो ।

कनेक्टिभिटी पूर्वाधारका अतिरिक्त, बिमस्टेक देशहरूले क्षेत्रीय व्यापार र लगानीलाई सहज बनाउन व्यापारमा लाग्ने विभिन्न गैर–भन्सार अवरोधहरू हटाउन र घटाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

बिमस्टेक राष्ट्रहरूले क्षेत्रीय मूल्य शृङ्खलाहरूको लागि अनुकूल वातावरण सिर्जना गर्न आफ्नो व्यापार र लगानी नीतिहरू सहज र सरल बनाउन सक्छन् । भन्सार प्रक्रियालाई सरल बनाउने, नीति नियमहरू सरल बनाउने र लगानी सहजीकरणको उपायहरू प्रवर्द्धन गर्ने जस्ता विषयहरू यसमा समावेश गर्न सकिन्छ ।

“यस क्षेत्रको स्वतन्त्र व्यापार व्यवस्थाले सदस्य राष्ट्रहरूबिचको द्विपक्षीय र बहुपक्षीय व्यापार बढाउन सहज बनाउन सक्छ । नेपालले आफ्नो निर्यातमा लाग्ने कर हटाउने वा घटाएकोमा फाइदा लिन सक्छ, जसले गर्दा व्यापारको मात्रा बढ्छ र निर्यात आधारमा विविधीकरण हुन्छ,“ उहाँले भन्नुभयो ।

उहाँले क्षेत्रीय कनेक्टिभिटी र व्यापार सम्झौताले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न पनि मद्दत गर्ने बताउनुभयो ।

“बिमस्टेक राष्ट्रहरुबीचको राम्रो कनेक्टिभिटी र व्यापार व्यवस्थाले एफडीआईलाई आकर्षित गर्न मद्दत गर्नेछ । बजार पहुँच सुधार गर्न तथा व्यापार अवरोधहरू कम गर्न सकेमा विदेशी कम्पनीहरूलाई अर्थतन्त्रका विभिन्न क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ, जसले बिमस्टेक देशहरूमा आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्नेछ,” उहाँले भन्नुभयो ।

महासङ्घका अध्यक्ष समेत रहेका ढकालले बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार र लगानीलाई प्रवर्द्धन गर्न बिमस्टेक बिजनेस फोरम गठन गर्न सकिने विचार पनि प्रस्तुत गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x