शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको एप बाट आइएमई मार्फत पठाएको पैसा प्राप्त गर्न सकिने

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले IME Ltd सँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (DigiShine) एपमा आईएमई रेमिटेन्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिटेन्सको रकम सिधै आफ्नो बैङ्क खातामा प्राप्त गर्न सक्नेछन्, जसले गर्दा बैङ्कमा वा आईएमइ रेमिटेन्स सङ्कलन गर्ने शाखामा गई लाममा उभिनु पर्दैन ।

आधुनिक बैंकिङ्गलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको सो बैङ्कले ग्राहकहरूलाई बैङ्कमा उपस्थित नभईकन पनि अनलाइनबाटै रेमिटेन्स रकमको भुक्तानी लिन सकिने सो व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैङ्कले लिएको जनाएको छ ।

यसअघि, शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले आफ्नो मोबाइल बैङ्किङ एपमा ई सेवा रेमिटेन्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैङ्किङ एपमार्फत रेमिटेन्स प्राप्त गर्न सक्दथे । आगामी दिनहरूमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले अन्य रेमिटेन्स सेवाहरू पनि एकीकृत गर्ने योजना बनाएको छ ।

सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले आजभन्दा २२ वर्ष अघि औपचारिक माध्यमबाट पहिलो पटक नेपालमा विदेशी मुद्रा भित्र्याउने कार्यको थालनी गरेको थियो । काठमाडौँको पानीपोखरीमा केन्द्रीय कार्यालय रहेको सो कम्पनीले अमेरिका, मलेसिया, बेलायत, अस्ट्रेलिया, युएई, कतार, साउदी अरब, जापान र भारत लगायतका मुलुकहरूबाट विभिन्न अन्तर्राष्ट्रिय बैङ्क तथा वित्तीय संस्थासँगको सहकार्यमा रेमिटेन्स भित्राउँदै आएको छ । आइएमई मुख्यता विश्वव्यापी रूपमा विप्रेषणको कारोबार गर्ने एवम् विदेशमा रहेका नेपालीहरूले दुःख गरी आर्जन गरेर पठाएको रकम सुरक्षित तरिकाले नेपालमा रहेका आफन्तहरूसम्म पुर्‍याउने माध्यम हो । अहिले विश्वव्यापी रूपमा आइएमईको ३५ भन्दा बढी देशमा, १५०, ००० भन्दा बढी भुक्तानी केन्द्र, तथा लाखौँ सन्तुष्ट ग्राहकहरू आवद्घ छन् । यसर्थ आइएमई रेमिटेन्स सेवाको पर्यायवाची नाम हो ।

रेमिटेन्स अहिले नेपाली अर्थतन्त्रको मेरुदण्ड साबित भएको छ । गत आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार कुल गृहस्थ उत्पादनमा झन्डै २८ प्रतिशत बराबर रेमिटेन्स मार्फत योगदान रहेको छ । आइएमईले नेपालको कुल रेमिट्यान्सको झन्डै ३० प्रतिशतको हाराहारीमा योगदान दिने गरेको छ । यस अर्थमा पनि राष्ट्रिय अर्थतन्त्रको योगदानमा आइएमईको विशिष्टीकृत सम्बन्ध छ । त्यसैले आइएमईलाई समग्र विप्रेषण व्यवसायलाई संस्थागत गरेको श्रेय जान्छ ।

आइएमईले भरपुर रूपमा उच्चतम प्रविधिको प्रयोग गरेर आइएमई रेमिटको अनलाइन मनि ट्रान्सफर सिस्टम मार्फत रकमान्तर गर्दै आइरहेको छ । यसको प्रयोगबाट एकातिर सेवाग्राहीले छिटो र सजिलै सेवा प्राप्त गरिरहेका छन् भने अर्को तिर प्रविधिको प्रयोगले सूचनाहरू गोप्य र व्यवस्थित राख्न सरल पनि भएको छ । जसका कारणबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन अनुसार सञ्चालन गर्न, नियमन गर्न पनि सजिलो हुन्छ । आइएमईले अन्तर्राष्ट्रिय तर्फ नगद भुक्तानी तथा तुरुन्तै बैङ्क खातामा डिपोजिट गर्ने (Instant Bank Deposit) जस्ता सेवाहरूको विकाश गरी कार्य सञ्चालन गरिरहेको छ ।

नेपालमा क्रियाशील बैङ्क तथा वित्तीय संस्था, सहकारी एवम् निजी साझेदारसँगको सहकार्यमा १२,००० भन्दा बढी भुक्तानी काउन्टरहरू र २१६ आईएमई सेन्टर सञ्चालनमा रहेका छन् ।  बैङ्किङ सेवाबाट वञ्चित देशका विभिन्न ग्रामीण क्षेत्रमा समेत आइएमईले  ४००० भन्दा बढी सहकारी संस्थाहरूसँग सहकार्य गरी आफ्नो सेवालाई प्रभावकारी तरिकाले सञ्चालन गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x