नेपाल चीन बिजनेस समिट "दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने"

चिनिया लगानी अभिवृद्धि र व्यापार सहजीकरणको लागि सहकार्य नेपालमा चिनिया लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फmको निर्यात सहजीकरणको लागि दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा दुवै तर्फका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले उक्त धारणा राख्नु भएको हो ।

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताउनुभयो । उहाँले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गर्नुभयो । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउनुहुँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै उहाँले त्यसका लागि वातावरण बनाउने बताउनुभयो । उहाँले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवर्द्धनमा सरकार सधैँ तत्पर रहेको बताउनुभयो । साथै उहाँले महासङ्घले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासङ्घको सराहना पनि गर्नुभयो । चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठुलो मुलुक भए पनि दुई देशबिचको व्यापार घाटा चिन्ताको विषय रहेको बताउनुभयो । नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणको लागि प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

सिसिपिआइटीको मुख्यालय बेइजिङमा सेप्टेम्बर २४, २०२३ मा आयोजित समिटलाई सम्बोधन गर्दै चिनिया वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबिचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताउनुभयो । साथै नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताउनुभयो । चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता जनाउने मुलुक हो । नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । यसै गरी उहाँले नेपालबाट बढिभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने बताउनुभयो ।

समिटमा महासङ्घ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जन गर्न, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताउनुभयो । साथै, नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवर्द्धनका लागि यो समिट महत्त्वपूर्ण रहने महासङ्घ अध्यक्ष चन्द्र ढकालले बताउनुभयो । कार्यक्रममा महासङ्घ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउनुभयो । पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तै केबलकार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उहाँले बताउनुभयो । नेपाल चिनिया पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउनुहुँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो । विदेशी लगानी सहजीकरणको लागि महासङ्घमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको अध्यक्ष ढकालले बताउनुभयो । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी गराउनुहुँदै अध्यक्ष ढकालले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले दुई देशबिच कारोबार बढिरहेको सन्दर्भमा चिनिया बैङ्कको आवश्यकता रहेको बताउनुभयो । चिनिया बैङ्क शाखाको रूपमा वा नेपालीसँगको संयुक्त लगानीमा आउन सक्ने उहाँले बताउनुभयो । सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासङ्घ पुरानो साझेदार संस्था रहेको बताउनुहुँदै समिटले द्विपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्त्वपूर्ण हुने बताउनुभयो । सिसिपिआइटी नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने विश्वास जताउनुभयो । महासङ्घको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गर्नुभएको थियो । नेपालमा प्राकृतिक श्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उहाँले बताउनुभयो ।

समिटमा १२० जना चिनिया कम्पनीको सहभागिता रहेको थियो । नेपालका तर्फबाट महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय उद्योग व्यापार महासङ्घका पदाधिकारी सहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता थियो । उक्त समिट पूर्व बिजनेस टु बिजनेस बैठक पनि राखिएको छ । यसअघि, महासङ्घ र सिसिपिआइटीका पदाधिकारीहरू बिच द्विपक्षीय छलफल समेत भएको थियो । जसमा दुई संस्थाबिचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल चीन लगानी एवं व्यापार सहजीकरणको विषयमा छलफल भएको थियो । छलफलमा अध्यक्ष ढकाल सहित निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरू हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठको सहभागिता थियो ।

यसै गरी महासङ्घ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाहीले पनि बैठकमा सहभागिता जनाउनुभएको थियो । यसै गरी कार्यसमिति सदस्यहरू मनोज पौडेल, हरि कार्की र सोभा ज्ञवालीको पनि कार्यक्रम एवं बैठकमा सहभागिता थियो । समिटका क्रममा आइएमइ समूहले सिएएमसी इन्जिनियरिङ कम्पनीसँग लगानी विस्तारको समझदारी गरेको छ । यसै गरी चौधरी समूहले जिएसी मोटर्स र होजोन मोटर्ससंग पनि सम्झौता गरेको छ ।

महासङ्घले पछिल्लो चार महिनामा देशबाहिर आयोजना गरेको यो दोस्रो समिट हो । यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासङ्घ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिजसंगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x