मेची भन्सारको १० महिनामा १२ अर्बभन्दा बढी राजस्व सङ्कलन

Gyanmandu | Achieving Excellence Together
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा १२ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार यो सङ्कलन सोही अवधिको लक्ष्यको ९१.५१ प्रतिशत बराबर हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले वैशाखसम्मको लक्ष्य १४ अर्ब १४ करोड रुपैयाँ थियो भने हालसम्मको सङ्कलन सन्तोषजनक रहेको बताउनुभयो।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने ७६.८५ प्रतिशत मात्र लक्ष्य प्राप्त भएको थियो। चालु आवमा भने तुलनात्मक रूपमा प्रगति देखिएको छ।

भन्सार तथ्याङ्क अनुसार, सङ्कलित राजस्वमध्ये सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थको आयातबाट आएको हो, जसबाट ७ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी अर्थात् कुल राजस्वको करिब ६०.५५ प्रतिशत सङ्कलन भएको छ। त्यस्तै, तरकारीको आयातबाट ५८ करोड, सवारी साधन तथा तिनका पार्टपुर्जाबाट ३६ करोडभन्दा बढी, खनिज वस्तुबाट २४ करोड, कफीबाट १९ करोड, र दलहनबाट करिब २० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

निर्याततर्फ, सो अवधिमा २१ अर्ब ४५ करोड रुपैयाँ बराबरको सामान विदेश पठाइँदा करिब २० करोड रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ। उता, ३८ अर्ब ८८ करोड रुपैयाँको वस्तु आयातबाट करिब १२ अर्ब ७४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x