शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्रीमा ल्याउने भएको छ।
कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबर हुने ३२ करोड रुपैयाँका ३२ लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ।
स्थानीयतर्फ बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नम्बर १ देखि १० सम्मका बासिन्दा तथा विद्युत् प्रसारण लाइनबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नम्बर २ का स्थानीयले आवेदन दिन सक्नेछन्। यो व्यवस्था वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत् उत्पादन अनुमति पत्रको आधारमा गरिएको कम्पनीले जनाएको छ।
यस्तै, सर्वसाधारणका लागि छुट्टाइएको शेयरमध्ये १० प्रतिशत अर्थात् २ करोड २२ लाख रुपैयाँ बराबरको २ लाख २२ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिनेछ।
आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयतर्फ आवेदन माघ २० गतेदेखि ढिलोमा फागुन ८ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैङ्क (बुर्तिवाङ र बागलुङ बजार), प्रभु बैङ्क (बडिगाड), गरिमा विकास बैङ्क (बुर्तिवाङ) तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क (बुर्तिवाङ) शाखाबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
शिखर पावरको आइपिओ माघ ६ देखि खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
