
हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चैत्र मसान्तसम्ममा ३१ अर्ब ८७ करोड २ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्। यस अवधिमा कम्पनीहरूले नवीकरणतर्फ १ खर्ब ८ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ सङ्कलन गर्दै कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्।
नेपाल लाइफको सर्वाधिक व्यापार
चैत्र मसान्तसम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक प्रथम बीमा शुल्क आम्दानी गरेको छ। कम्पनीले ८ अर्ब ३० करोड ३६ लाख रुपैयाँ नयाँ (प्रथम) बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा नेसनल लाइफले ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेको छ भने तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेको छ।
अन्य कम्पनीहरूको प्रथम बीमा शुल्क अवस्था
प्रथम बीमा शुल्क सङ्कलनमा चौथो स्थानमा रहेको सूर्यज्योति लाइफले २ अर्ब २० करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ। त्यस्तै, सिटिजन लाइफले १ अर्ब ९५ करोड ११ लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ, एशियन लाइफले १ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ र आइएमई लाइफले १ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेका छन्।
त्यसै गरी, सानिमा रिलायन्स लाइफले १ अर्ब ४७ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफले १ अर्ब ४६ करोड २६ लाख रुपैयाँ सङ्कलन गर्दा प्रभु महालक्ष्मी लाइफको १ अर्ब २२ करोड २३ लाख रुपैयाँ, मेट लाइफको १ अर्ब १६ करोड २८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको ९९ करोड ३० लाख रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ। विवरण अनुसार सन नेपाल लाइफले सबैभन्दा कम ८३ करोड ८१ लाख रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेको छ।
