वित्तीय साक्षरतामा गरिमा विकास बैङ्क सर्वोत्कृष्ट, ‘वेस्ट डेभलपमेन्ट बैङ्क’ अवार्ड प्राप्त

वित्तीय साक्षरतामा ‘ख’ वर्गका बैङ्कहरू मध्येबाट गरिमा विकास बैङ्कबाट सर्वोत्कृष्ट विकास बैङ्क बनेको छ । गरिमा विकास बैङ्कले वित्तीय साक्षरतामा वेस्ट डेभलपमेन्ट बैङ्क अवार्ड प्राप्त गरेको हो ।

केटिएम भ्वाइसले शुत्रबार आयोजना गरेको वित्तीय साक्षरता समिट एण्ड अवार्ड कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायले गरिमाका सिइओ माधव आचार्यलाई उक्त अवार्डको प्रमाण पत्र र ट्रफी हस्तान्तरण गर्नुभयो ।

नेपालमा पहिलो पटक केटिएम भ्वाइसले आयोजना गरेको राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन एण्ड अवार्डको उद्घाटन खुत्रुके हस्तान्तरण गरेर गरिएको थियो । नेपालमै पहिलो पटक आयोजना गरिएको वित्तीय साक्षरता सम्मेलनमा उद्घाटन शत्रसहित ३ वटा सेसनहरु सञ्चालन भएका थिए ।

उद्घाटन शत्रमा आयोगका उपाध्यक्ष डा. भट्ट, अर्थसविच डा. उपाध्याय, राष्ट्र बैङ्कका सञ्चालक चिन्तामणि सिवाकोटी, नेपाल क्लियरिङ हाउसका सिइओ निलेशमानसिंह प्रधान, लघुवित्त बैंकर्स सङ्घका उपाध्यक्ष दीपकनिधि तिवारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा ‘दिगो आर्थिक विकासका लागि उत्प्रेरकका रूपमा वित्तीय साक्षरता’ शीर्षकमा पहिलो प्यानल छलफल भएको थियो ।

छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, उच्चस्तरीय वित्तीय क्षेत्र सुधार निर्देशन समितिका सदस्य भुवनकुमार दाहाल तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. भरतसिंह थापा वक्ताका रूपमा सहभागी हुनुन्थ्यो भने लघुवित्त बैंकर्स सङ्घका पूर्व अध्यक्ष वसन्त लम्सालले प्यानलमा मोडिरेसन गर्नुभएको थियो ।

दोस्रो सत्रमा ‘समावेशी र पारदर्शी वित्तीय प्रणाली निर्माण वित्तीय साक्षरता, वित्तीय समावेशीकरण र सम्पत्ति शुद्धीकरण नियन्त्रण’ विषयमा छलफल भएको थियो । डा. रमेशचन्द्र पौडेल (सत्र अध्यक्ष), डा. राजन थापा, बैङ्किङ विज्ञ तथा पूर्व सिइओ अनलराज भट्टराई र माइक्रो फाइनान्स अध्यक्ष लेखनाथ खनियाँ सहभागी यस प्यानलको शाइन रेसुंगा डेभलपमेन्ट बैङ्कका मानव संसाधन विभाग प्रमुख प्रभास राईले मोडिरेसन गर्नुभएको थियो ।

वित्तीय साक्षरता अवार्ड
सम्मेलनकै अवसरमा वित्तीय साक्षरता प्रवर्द्धनमा योगदान पुर्‍याएका विभिन्न बैङ्क तथा वित्तीय संस्था, डिजिटल वित्तीय सेवा प्रदायक तथा व्यक्तित्वहरूलाई वित्तीय साक्षरता अवार्ड प्रदान गरिएको थियो ।

संस्थागततर्फ वाणिज्य बैङ्कहरू मध्येबाट ग्लोबल आइएमई बैङ्क, विकास बैङ्कहरू मध्येबाट गरिमा विकास बैङ्क, फाइनान्स कम्पनीहरू मध्येबाट गुडविल फाइनान्स र लघुवित्तहरू मध्येबाट ग्लोबल आइएमई लघुवित्तलाई सर्वोत्कृष्ट वित्तीय साक्षरता अवार्ड प्रदान गरिएको थियो ।

यसै गरी नेपाल क्लियरिङ हाउसलाई डिजिटल साक्षरतामा उत्कृष्ट संस्थाका रूपमा अवार्ड प्राप्त गरेको छ । संस्थाले सञ्चालन गरेका वित्तीय तथा डिजिटल साक्षरता अभियान र त्यसको प्रभावका आधारमा सम्मान गरिएको थियो ।

व्यक्तिगत तर्फ वित्तीय साक्षरता सर्वोत्कृष्ट सम्मानका रूपमा राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सम्मानित भएका छन् भने वित्तीय साक्षरता अभियान्ता भुवन दाहाललाई सर्वोत्कृष्ट वित्तीय साक्षरता प्रशिक्षक अवार्ड प्रदान गरिएको छ । राष्ट्र बैङ्ककै सह प्रवक्ता तथा सूचना अधिकारी सुधा श्रेष्ठलाई यस वर्षको वित्तीय साक्षरता प्रशिक्षकका रूपमा सम्मान अवार्ड प्रदान गरिएको छ ।

त्यस्तै, वित्तीय साक्षरता, वित्तीय पत्रकारिता तथा नागरिक सचेतना अभिवृद्धिमा योगदान दिने बैङ्किङ खबरका प्रधान सम्पादक माधव निर्दोषलाई अवार्ड प्रदान गरिएको छ । सुदूरपश्चिमका भिमबहादुर केसीलाई उदयीमान उद्यमशीलता अवार्डबाट सम्मान गरिएको छ ।

अवार्डका लागि संस्थाहरू तथा कार्यक्रमहरूको मूल्याङ्कन गर्दा कार्यक्रमको प्रभाव, भौगोलिक पहुँच, लाभग्राहीको सङ्ख्या, नवीनता तथा डिजिटल साक्षरता, ग्रामीण तथा पहुँचविहीन समुदायमा पुगेको प्रभाव र मापनयोग्य उपलब्धिजस्ता आधारलाई समेटिएको केटिएम भ्वाइसका अध्यक्ष तथा प्रधान सम्पादक रोयल आचार्यले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x