पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले साढे १२% व्यापार वृद्धि गर्दा सर्वाधिक नाफा कस्काे?

Non Life Insurance

ज्ञानमाण्डू। चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको अवधिसम्ममा नेपालमा हाल सञ्चालनमा रहेका २० निर्जीवन कम्पनीहरू मध्ये प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका १८ निर्जीवन बीमा कम्पनीहरूले जम्मा ९१ करोड ५१ लाख रुपैंया खुद मुनाफा कमाएका छन्। यस अवधिमा उक्त इन्स्योरेन्स कम्पनीहरूको खुद बीमा शुल्क आर्जन भने ३ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा निर्जीवन बीमाहरुको खुद नाफा २.१५ प्रतिशतले सङ्कुचित भएको छ। सोही अवधिमा उक्त संस्थाहरूको खुद बीमा शुल्क आर्जन भने १२.५३ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्षको समीक्षा अवधिमा यी निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ९३ करोड ५२ लाख रुपैंया र गत आर्थिक वर्षको प्रथम त्रैमासमा उक्त संस्थाहरूको खुद बीमा शुल्क आर्जन ३ अर्ब ४९ करोड रुपैंया रहेको थियो।



समीक्षा अवधिमा जम्मा ९१ करोड ५१ लाख रुपैंया खुद मुनाफा आर्जन गरेका १८ निर्जीवन कम्पनीहरूले औसतमा ५ करोड ८ लाख नाफा कमाएको तथ्याङ्कले जनाएको छ। यस अवधिमा ९ निर्जीवन बीमा कम्पनीहरूको नाफा सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने ९ यस्ता निर्जीवन बीमा कम्पनीको नाफा औसतभन्दा कम रहेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा उक्त संस्थाहरूको खुद नाफा औसतमा ५ करोड १९ लाख रुपैयाँ रहेको थियो।

त्यसै गरी, यस अवधिमा ३ अर्ब ९२ करोड खुद बीमा शुल्क आर्जन गरेका १८ निर्जीवन कम्पनीहरूले औसतमा २१ करोड ८२ लाख खुद बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले जनाएको छ। यस अवधिमा ८ निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने १० यस्ता निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा उक्त संस्थाहरूको खुद बीमा शुल्क आर्जन औसतमा १९ करोड ३९ लाख रुपैयाँ रहेको थियो।

  • मुनाफामा शिखर इन्स्योरेन्सको अग्रता:

चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको अवधिसम्ममा वित्तीय विवरण प्रकाशित गरेका कुल १८ निर्जीवन कम्पनीहरू मध्ये सर्वाधिक मुनाफा शिखर इन्स्योरेन्सले कमाएको छ । यस अवधिमा शिखर इन्स्योरेन्सले १३ करोड ३६ लाख रुपैंया खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सम्बन्धित अवधिको तुलनामा ९.२८ प्रतिशतको वृद्धि हो।



यता, समीक्षा अवधिमा सर्वाधिक मुनाफा वृद्धि गर्ने निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स भएको छ । केही समय मात्र आइपिओ निष्कासन गरी नेप्सेमा सूचिकृत उक्त निर्जीवन इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिसम्ममा ३ करोड अधिक नाफा गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.२५ प्रतिशतको वृद्धि हो।

त्यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको अवधिसम्ममा सर्वाधिक मुनाफा कमाउने अर्को निर्जीवन बीमा कम्पनी प्रिमियर इन्स्योरेन्स भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको नाफामा ३ दशमलव १६ प्रतिशतको बढोत्तरी भई ८ करोड १५ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा, नेको इन्स्योरेन्सले ७ करोड १९ लाख कमाउँदा प्रभु इस्योरेन्सले ६ करोड ५४ लाख र राष्ट्रिय बीमा कम्पनीले ६ करोड २० लाख नाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा अजोड इन्स्योरेन्सको नाफा सोही वर्गका संस्थाहरू मध्येको सबैभन्दा कम हो। इन्स्योरेन्सले यस अवधिमा १ करोड १० लाख नाफा गरेको छ जुन इन्स्योरेन्सको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९.२३ प्रतिशतको गिरावट हो।

  • मुनाफा घटे पनि खुद बीमा शुल्क आर्जनमा नेको इन्स्योरेन्स कै प्रभुत्व

चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको अवधिसम्ममा वित्तीय विवरण प्रकाशित गरेका कुल १८ निर्जीवन कम्पनीहरू मध्ये सर्वाधिक बीमा शुल्क आर्जन नेको इन्स्योरेन्सले गरेको छ । यस अवधिमा नेपाल इन्स्योरेन्सले ४९ करोड ३५ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सम्बन्धित अवधिको तुलनामा १४.०३ प्रतिशतको वृद्धि हो।



त्यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको अवधिसम्ममा सर्वाधिक खुद बीमा शुल्क आर्जन गर्ने अर्को निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जनमा २ दशमलव ५३ प्रतिशतको बढोत्तरी भई ४४ करोड ५० लाख रुपैंया पुगेको छ। सगरमाथा इन्स्योरेन्सले यस अवधिमा ३९ करोड ४२ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०७ प्रतिशतको वृद्धि हो।

यता, समीक्षा अवधिमा सर्वाधिक बीमा शुल्क आर्जन वृद्धि गर्ने निर्जीवन बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्स भएको छ । उक्त इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिसम्ममा ३ करोड ६१ लाख अधिक नाफा गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.४८ प्रतिशतको वृद्धि हो। 

गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरू मध्ये सर्वाधिक बीमा शुल्क आर्जन वृद्धि गर्न सफल भएता पनि उक्त इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन सोही वर्गका अन्य निर्जीवन बीमा कम्पनीहरूको तुलनामा सबैभन्दा कम हो। इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको अवधिसम्ममा ६ करोड ५५ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ। 


अस्वीकरण: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x