नेपाल बैंकको अधिकांश सूचकमा सामान्य सुधार, वितरणयोग्य मुनाफा करिब डेढ अर्ब


ज्ञानमाण्डू। नेपाल बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैङ्कले खुद नाफा र वितरणयोग्य मुनाफामा वृद्धि गरेको छ भने यस बैङ्कका समग्र वित्तीय विवरणका परिसूचकहरूमा सामान्य सुधार देखिएको छ।

नेपाल बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैङ्कले गत आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैङ्कले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ३१ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई गत आ.व. तेस्रो त्रैमासको तुलनामा रू. २६ करोड अधिक खुद मुनाफा आर्जन गरेको हो ।

समीक्षा अवधि(चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत मसान्त)सम्ममा बैङ्कको वितरणयोग्य मुनाफा १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्म बैङ्कको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैङ्कको खुद ब्याज आम्दानी पनि बढेको छ । गत चालू आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्म ४ अर्ब २१ करोड रुपैयाँ रहेको नेपाल बैङ्क लिमिटेडको खुद ब्याज आम्दानी बढेर चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । बैङ्कले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ७५ प्रतिशतको बढोत्तरी गर्न सफल भएको देखिन्छ ।

गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्म ११ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बैङ्क लिमिटेडको चुक्ता पुँजी चालू आ.व. चैत मसान्तसम्ममा आइपुग्दा १२ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैङ्कको चुक्ता पुँजी १२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

समीक्षा अवधिसम्ममा बैङ्कको जगेडा कोष २१ दशमलव ५ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्म बैङ्कको जगेडा कोषमा १३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो। यता, बैङ्कको सञ्चित मुनाफा पनि वृद्धि भई ४ अर्ब २३ करोड रुपैयाँमा कायम भएको छ । गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्म बैङ्कको सञ्चित मुनाफा ३ अर्ब १० करोड रुपैयाँ रहेको थियो।

बैङ्कको चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी रू. १ खर्ब २७ अर्ब पुगेको छ । बैङ्कले गत आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा १ खर्ब ३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । बैङ्कले कर्जा लगानीतर्फ गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलव ८४ प्रतिशतको अधिक कर्जा प्रवाह गरेको देखिन्छ ।

साथै बैङ्कले गत आ.व. तेस्रो त्रैमाससम्मको अवधिको तुलनामा निक्षेप सङ्कलन रू. १ खर्ब ५१ अर्ब पुर्‍याउन सफल भएको छ । बैङ्कले गत आ. व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो । बैङ्कले निक्षेप सङ्कलनतर्फ गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ दशमलव १२ प्रतिशतको वृद्धि गरेको देखिन्छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २.६४ प्रतिशत रहेको नेपाल बैङ्क लिमिटेडको निष्क्रिय कर्जा यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २ दशमलव २९ प्रतिशतमा कायम भएको बैङ्कले जनाएको छ ।

यस अवधिसम्ममा बैङ्कको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २६ पैसाले घटेर २३ रुपैयाँ ८७ पैसा पुगेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ पनि २६ रुपैयाँ ४१ पैसाले ऒरालो लागेर २७० रुपैयाँ २२ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १९ दशमलव २३ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x