जुम्लामा कुपोषण दर घट्दो क्रममा

ज्ञानमाण्डू।जुम्लामा कुपोषण दर घट्दो क्रममा रहेको छ । स्वास्थ्य कार्यालय जुम्लाको पाँच वर्षको तथ्याङ्कलाई हेर्ने भने कुपोषण दर घट्दो क्रममा रहेको हो । विसं २०७२ मा एक वर्षमुनिका बालबालिका १० दशमलव छ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १५ दशमलव चार प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२ दशमलव सात प्रतिशत कुपोषित रहेका थिए ।

त्यसै गरी विसं २०७३ मा एक वर्षमुनिका बालबालिका १२ दशमलव छ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२ दशमलव चार प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२ दशमलव छ प्रतिशत कुपोषित थिए । विसं २०७४ मा एक वर्षमुनिका बालबालिका १० दशमलव नौ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२ दशमलव सात प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका ११ दशमलव नौ प्रतिशत कुपोषित रहेका थिए । 

यस्तै विसं २०७५ मा एक वर्षमुनिका बालबालिका सात दशमलव दुई प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १० दशमलव आठ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका नौ प्रतिशत कुपोषित रहेका थिए । विसं २०७६ मा एक वर्षमुनिका बालबालिका तीन दशमलव सात प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका सात दशमलव आठ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका पाँच दशमलव सात प्रतिशत कुपोषित रहेका छन् । 

विसं २०७२ मा ६५, २०७३ मा १४८, २०७४ मा २९२, २०७५ मा १११ र २०७६ मा ८३ जना कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामै भर्ना गरी उपचार गरिएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनले भने , “यस वर्षको तथ्याङ्क आउन बाँकी छ ।” यहाँको महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण गरी पोषणयुक्त बनाउनका लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमको प्राविधिक सहयोग भने मनहरी विकास संस्था (एमडिआई) नेपालले गरेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए । कार्यक्रमको प्रमुख लक्ष्य भनेकै आमा तथा बाल स्वास्थ्य र पोषणमा सुधार ल्याउने रहेको छ । यहाँका एक नगरपालिका र सात गाउँपालिकामा रहेका आमा र बच्चालाई सर्वोत्तम पिठो पोषणयुक्त खाना उपलब्ध गराउँदै आएको छ । 

तातोपानी गाउँपालिका–५ लाम्रागाउँकी सरिता चौलागाईँले गर्भवती, सुत्केरी महिला र बच्चालाई वितरण गरिँदै आएको पोषणयुक्त आहार (सर्वोत्तम पिठो)ले पोषणमा सुधार हुँदै आएको बताइन् । उनले भनिन् , “लकडाउनमा पनि नियमित वितरण हुँदै आएकाले आमा र बच्चालाई सहज भएको छ ।” यो खाना आमा र बच्चा दुवैले रुचाएर खाने गरेका छन् । त्यसै गरी पातारासी गाउँपालिका–३ चौरगाउँकी पन्नी रावलका अनुसार कोरोना भाइरसले लकडाउन भएपछि प्रभावित भएका आमा र बच्चालाई सर्वोत्तम पिठो वितरण गर्दा राहत भएको छ । यसले पोषण सुधार गर्नका साथै भोकमरीबाट पनि बचाएको रावलले बताए । 

एमडिआइ नेपाल जुम्लाका प्रमुख नवीन रावलका अनुसार गर्भवती तथा सुत्केरी आमा र सुनौला हजार दिनभित्रका बालबालिकाको पोषण सुधार गर्नका लागि आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालनमा रहेको छ । सन् २०१४ देखि जुम्लामा सञ्चालित कार्यक्रमले प्रति महिना पोषणयुक्त आहारा उपलब्ध गराउने र तौल लिने काम गर्दै आएको प्रमुख रावलले बताए । त्यसै गरी पोषण र स्वास्थ्यसम्बन्धी परामर्श गर्ने गरिएको छ । दुई हजार ७४६ सुत्केरी, गर्भवती र चार हजार ५७ बालबालिका गरी छ हजार ८०३ जनालाई २० हजार ४०९ मेट्रिक टन पोषणयुक्त आहार (पोषिलो लिटो) वितरण गर्दै आएको प्रमुख रावलले बताए । 

कुपोषण हटाउने सरकारको लक्ष्य: 

सरकारले सन् २०३० सम्ममा कुपोषणलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । सरकारको लक्ष्यलाई राष्ट्रिय पोषण अभियानले सहयोग गर्ने विश्वास व्यक्त गर्दै बहुक्षेत्रीय पोषण योजनालाई प्रदेश र स्थानीय तहबिचको समन्वयमा अझ प्रभावकारी बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण कृषिमा आधारित देश भएकाले खाद्यान्नमा आत्मनिर्भर हुन र जैविक खेती अपनाउन, पोषणयुक्त खाद्यान्न उपलब्ध गराउन तथा कुपोषण अन्त्यमा ध्यान दिन सरकारी निकाय गम्भीर रहेको छ । सन् २०३० सम्म कुपोषण अन्त्य गर्ने सङ्घीय सरकारको लक्ष्य पूरा गर्न कर्णाली सरकारको पनि लक्ष्य रहेको छ । 

सुनौलो हजार दिनभित्रका आमालाई पोषण आहारा: 

चन्दननाथ नगरपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई पोषणयुक्त आहारासहितको झोला वितरण गरेको छ । नगरपालिकाका ३० आमालाई पोषण झोला वितरण गरेको हो । चन्दननाथ–१ र ४ वडाका सुनौला हजार दिनका आमालाई पोषण झोला वितरण गरिएको स्वास्थ्य शाखा स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिए । 

दुवै वडाका १५-१५ आमालाई पोषण झोला वितरण गरिएको निरीक्षक महतले बताए । सुरक्षित मातृत्व तथा सुत्केरीको पोषण अवस्था सुधार गर्ने उद्देश्य रहेको स्वास्थ्य शाखा निरीक्षक महतको भनाइ छ । प्रत्येक आमालाई पाँच किलो मार्सी चामल, एक लिटर तेल, दुई किलो सिमीको दाल, पाँच किलो आँटा, एक क्यारेट अण्डा, एक चक्की नुहाउने साबुन, मञ्जन, ब्रस, रायोको बीउ र गाजरको बीउ वितरण गरिएको हो । 

सुत्केरी आमालाई पोषण उपलब्धता तथा मातृशिशु मृत्युदर कम गर्नु प्रमुख उद्देश्य रहेको महतको भनाइ छ । बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गतको बजेटबाट नगरपालिकाले पोषण झोला वितरण गरेको हो । युुनिसेफ र बहुुक्षेत्रीय पोषण योजनाको आर्थिक सहयोग तथा चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाको आयोजनामा सुनौलो हजार दिनभित्रका सुत्केरी आमालाई पोषण तथा सरसफाइ सामग्रीसहितको झोला प्रदान गर्दा आमाहरु हर्षित भएका थिए । 

महिलाका पीडा महसुस गरी नगरपालिकाबाट आमालाई सानो सहयोग कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख कान्तिका सेजुवालले बताए । गर्भावस्थादेखि नै पोषणमा विशेष ध्यान दिनुपर्ने, नियमित स्वास्थ्य संस्थामा जाँच र प्रसूति गृहमा नै सुत्केरी गराउनुपर्ने बताउँदै बच्चा जन्मिएपछि आमाले नियमित पोषिला खानेकुरा खानुपर्ने नगरप्रमुख सेजुवालले सुझाए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x