गण्डकी प्रदेशमा ७२ ‘नमूना कृषि गाउँ’ बन्ने

ज्ञानमाण्डू।गण्डकी प्रदेश सरकारले यस वर्ष ३६ गाउँलाई ‘नमुना कृषि गाउँ’ बनाउने भएको छ । 

प्रदेशका ११ वटै जिल्लाका ३६ गाउँलाई ‘नमुना कृषि गाउँ’ बनाउने भएको हो । गत वर्ष पनि प्रदेश सरकारले प्रदेशसभाको ३६ निर्वाचन क्षेत्रमा एक-एक ‘नमुना कृषि गाउँ’ छनोट गरेको थियो । व्यावसायिक कृषि उत्पादनका माध्यमबाट पाँच वर्षभित्रमा आधारभूत खाद्य उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ प्रदेश सरकारले नमुना कृषि गाउँलाई प्राथमिकतामा राखेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले बताए । 

प्राविधिक शिक्षा तथा तालीम परिषद्अन्तर्गत धौलागिरी पोलिटेक्निक इन्स्टिच्युट बाग्लुङले मङ्गलवार पोखरा–१६ अर्मलामा आयोजना गरेको ३९० घण्टाको बेमौसमी तरकारी खेती तालीमको उद्घाटन गर्दै मन्त्री थापामगरले नमुना कृषि गाउँ कार्यक्रमलाई निर्वाचन क्षेत्र, पालिका तथा वडातहसम्म विस्तार गरेर बढी भन्दा बढी कृषि उत्पादन गर्ने सरकारको नीति रहेको बताए । मन्त्री थापामगरले भने , “व्यावसायिक उत्पादनका लागि कृषकलाई तालीम, प्रविधि हस्तान्तरण र माटो अनुसारको उत्पादनको सम्भावना पहिल्याउँदै कृषकलाई सुविधा प्रदान गर्ने नीति कार्यक्रम सरकारको छ ।”

प्रदेशका ८५ वटै स्थानीय तहमा कृषि उत्पादन ‘ब्लक’ तथा प्रत्येक वडामा ‘पकेट’ क्षेत्र बनाउने गरी सम्भावना, वस्तुगत आवश्यकता तथा जनचासोका आधारमा गाउँ गाउँमा कार्यक्रम लगिने मन्त्री थापामगरले स्पष्ट पारे  । 

इन्स्टिच्युटका शिक्षालय प्रमुख बज्रमोहन पौडेलले स्थानीयवासीलाई सीप सिकाउँदै पोख्त बनाउने र अर्ग्यानिक तरकारी उत्पादन गर्दै आयआर्जनमा सघाउने उद्देश्यले तालीम आयोजना गरिएको जानकारी दिए । 

प्रत्येक दिन छ घण्टाका दरले ६५ दिनसम्म तालीम सञ्चालन हुने र तालीमका अवसरमा कृषकहरूलाई विभिन्न प्रकारका बेमौसमी तरकारी खेती, विषादी परीक्षण, भण्डारण तथा विक्री वितरणका बारेमा ज्ञान दिइने प्रशिक्षक दुर्गाबहादुर गुरुङले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x