गुरुयोजनानुसार नै गुफाको व्यवस्थित विकास गर्नुपर्ने

ज्ञानमाण्डू।गण्डकी प्रदेशसभाका सदस्यले प्राकृतिक गुफाका रूपमा रहेका महेन्द्र गुफा र चमेरे गुफालाई गुरुयोजना अनुसार नै व्यवस्थित विकास गर्नुपर्नेमा जोड दिएका छन् । विन्ध्यवासिनी मावि बाटुलेचौरको आयोजनामा गुफा क्षेत्रको विकासका सन्दर्भमा गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने यस क्षेत्रका सांसदसँगको छलफलमा उनीहरूले दुवै गुफाको विस्तृत गुरुयोजना निर्माण भएकाले यसको पर्यटकीय विकासमा प्रदेश सरकारको ध्यान जानुपर्ने बताए ।

गण्डकी प्रदेशसभाका सार्वजनिक लेखासमितिका सभापति कुमार खड्काले गुफाभित्रको आकर्षण बढाउन सकेमा मात्रै पर्यटकको आकर्षण बढ्ने धारणा व्यक्त गरे  । गुफा आसपासको समग्र विकासका लागि पनि आफूहरू एकमत रहेको बताउँदै सभापति खड्काले योजनाको प्रथामिकीकरण गर्न आग्रह गरे  ।

सांसद विन्दुकुमार थापाले विकास निर्माणका काममा राजनीतिभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याउँदै वडा नं १६ को विकासका लागि योजना तर्जुमासहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न वडाध्यक्षलाई सुझाव दिएकी छिन्  ।

अर्का प्रदेशसभा सदस्य प्रभा कोइरालाले महेन्द्र तथा चमेरे गुफाको विकासले यस क्षेत्रको सुन्दरता बढाउने बताउँदै विकासका काममा कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरिन् । प्रदेशसभा सदस्य मीना गुरुङले सबैको सहकार्यबाट नै प्रदेशलाई समृद्ध बनाउन सकिने उल्लेख गरिन् । वडा नं १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, पूर्व वडाध्यक्ष उदयबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतले गुफा क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

महेन्द्र गुफामा विद्यालयले नाला र कलात्मक रेलिङको निर्माण गरिरहेको उक्त अवसरमा जानकारी गराइयो । पर्यटकीय गन्तव्यका रूपमा प्रदेश सरकारको योजनामा परेको महेन्द्र गुफामा सरकारकै सहयोगमा चिल्ड्रेन पार्क निर्माणका लागि प्रक्रियासमेत सुरु भएको जनाइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x