३० वर्षपछि खानेपानी योजना निर्माण हुँदै

ज्ञानमाण्डू।मालिकार्जुन गाउँपालिका–२ मा ३० वर्षपछि बृहत् खानेपानी तथा सरसफाइ योजना सुरु भएको छ । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाअन्तर्गत भगवती खानेपानी तथा सरसफाइ योजना सुरु भएको हो । 

वर्षौँदेखि खानेपानी समस्या झेल्दै आएका बस्तीका लागि खानेपानी योजना सुरु गरिएको छ । भगवती खानेपानी तथा सरसफाइ योजनाअन्तर्गत सिराड बस्ती र ठिङ बस्तीका गरी १६९ घरधुरीमा खानेपानी पहुँच पुर्‍याउने उद्देश्यले योजना सुरु गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सहयोगी संस्था सामुदायिक ग्रामीण विकास समाज नेपालका फिल्ड संयोजक रवीन्द्रसिंह धामीले जानकारी दिए ।

“विगतमा एउटा टोलमा एउटा खानेपानी धारा थियो,” संयोजक धामीले भने , “अहिले हरेक घरधुरीमा खानेपानी धारा निर्माण गर्नेगरी योजना सुरु गरिएको छ ।” यो योजनाले दुवै बस्तीका १६९ घरधुरी, दुई विद्यालय, एक स्वास्थ्य चौकी, एक वडा कार्यालय र चार वटा मन्दिरमा समेत धारा निर्माण गरिनेछ । 

योजना निर्माणका लागि नेपाल सरकारको रु पाँच लाख ९९ हजार ५६८, फिनल्यान्ड र युरापेली युनियनको रु ३१ लाख ४७ हजार ७३३, गाउँपालिकाको ७८ लाख ६ हजार ८७९ र उपभोक्ताको श्रम लगानी ४० लाख ५९ हजार ५७७ गरी कूल रु एक करोड ५६ लाख १३ हजार ७५९ लागतमा खानेपानी तथा सरसफाइ योजना निर्माण हुन लागेको हो ।

योजना निर्माण सुरु भएपछि स्थानीयवासी बिहानदेखि बेलुकीसम्म काममा जुटेका छन् । योजना निर्माण गर्न २६ प्रतिशत जनश्रमदान गर्नुपर्ने भएपछि हरेक घरधुरीबाट एक जना काममा जुटेका हुन् । खानेपानी योजनाको शाखा लाइन खोदानमा जनश्रमदानको काम भइरहेको भगवती खानेपानी तथा सरसफाइ योजनाका उपभोक्ता समिति सचिव कल्यानसिंह धामीले जानकारी दिए । 

यो गाउँमा २०४६ सालमा खानेपानी योजना निर्माण गरिएको थियो । त्यसयता खानेपानी योजना मर्मत सम्भार हुन नसकी गाउँमा पानी अभाव हुन थालेपछि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत खानेपानी योजना निर्माण भइरहेको सचिव धामीले बताए ।

“गाउँमा ३० वर्षपछि स्वच्छ पिउने पानी पुग्ने भएपछि स्थानीयवासी खुसी छन्,” सचिव धामीले भने , “पहिले धारामा पानी हुँदैन थियो, लाइन कुरेर बस्नुपर्थ्यो ।” एक गाग्री पानीका लागि आधा घण्टासम्म कुर्नुपरेको धामीले सुनाउँछन् । अहिले सबैको व्यक्तिपिच्छे खानेपानी धारा, धाराबाट बचत भएको पानी तरकारी बगैँचा निर्माण गरिने भएपछि स्थानीयवासीमा खुशियाली छाएको छ । 

गाउँमा खानेपानी तथा सरसफाइमा सुधार हुने भएपछि स्थानीयवासीले जनश्रमदानमा समेत उल्लेखनीय सहभागिता देखाएको कार्यक्रमका फिल्ड संयोजक धामीले बताए । “अहिले सबै घरधुरीबाट योजना निर्माणमा सहभागिता उल्लेखनीय छ”, धामीको भनाइ छ । खानेपानी योजना आगामी २०७८ जेठमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x