शैक्षिक कानूनमा बालअधिकार अनिवार्य समावेश गर्न सुझाव

ज्ञानमाण्डू।बालबालिकाको गुणस्तरीय सिकाइका लागि उनीहरूको सुरक्षा पहिलो सर्त भएकाले शिक्षाका कानुन तर्जुमा गर्दा बालअधिकार संरक्षणका सवाल अनिवार्यरुपमा समावेश गर्न सुझाव दिइएको छ । 

राष्ट्रिय बाल संरक्षण सञ्जाल (एनसिपिए)द्वारा आज आयोजित ‘शिक्षा ऐन र बाल संरक्षण’ विषयक परामर्शमा जनप्रतिनिधि, सरकारी अधिकारी र अधिकारकर्मीले विद्यालय र घरपरिवारमा समेत विभेद र हिंसा जारी रहेकाले त्यस्ता उलङ्घनकर्तालाई कानुनी कारबाही गराउन माग गरेका हुन् । बालविवाह अझै अन्त्य हुन सकेको छैन भने सडक बालबालिकाको समस्या कायमै छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद बीना श्रेष्ठले शिक्षा र बालअधिकारको सही कार्यान्वयनविना समृद्ध नेपाल निर्माण सम्भव नहुने भएकाले सोका लागि संसद्मा भूमिका खेलिने बताइन् । 

नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य लक्ष्मी परियारले शिक्षा र बालअधिकारका क्षेत्रमा नीति नियम बनाउन उदार भए पनि कार्यान्वयनमा कमजोर स्थिति रहेको बताउँदै विद्यालय बालबालिका असुरक्षितरुपमा पढ्न विवश भएको बताए । बालिकालाई विद्यालयमा सेनेटरी प्याड उपलब्ध हुन थाले पनि फेर्नका लागि अलग्गै कोठा अभाव भएको जनाउँदै उनले पाठ्यक्रममै बालअधिकारका सवाल समावेश गर्न माग गरे । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा तुल्सीप्रसाद थपलियाले बालबालिको गुणस्तरीय शिक्षाका लागि सुरक्षित वातावरण पहिलो सर्त भएकाले त्यसको प्रबन्धका लागि सबै तहका सरकार र सरोकार भएका पक्ष लाग्नुपर्ने बताए । 
मानवाधिकारकर्मी गौरी प्रधानले भावी शिक्षा ऐनका लागि सरोकार भएका पक्षको सुझावका आधारमा बालअधिकारका विषयलाई सहीरुपमा सम्बोधन भए बालबालिका सुखी हुने र त्यसले समृद्ध नेपालको आधार खडा गर्ने बताइन् । 

बाल अधिकारकर्मी तारक धितालले शिक्षा र बालअधिकारसँग सम्बन्धित नीति नियम र निर्देशिकाबीचको समानता कायम गरी अधिकारको सही कार्यान्वयका लागि स्थानीय तहलाई क्रियाशील बनाउन सुझाव दिए । 

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय सञ्जाल (सिजप) का अध्यक्ष नरेन्द्र डङ्गोलले विद्यालय शान्ति क्षेत्र विभिन्न राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनले विद्यालयमा राजनीतिक हस्तक्षेप र बन्द, हड्ताल नगरी बालअधिकारको निर्वाध प्रयोगका लागि भूमिका निर्वाह गर्नुपर्ने बताए । एनसिपिएकी अध्यक्ष रितु भट्टले बालअधिकारको व्यवहारिक कार्यान्वयनका लागि सम्बन्धित संस्थाको सहकार्यमा कार्यक्रम अघि बढाइने जनाइन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x