कृषकलाई अनुदानको ठाउँमा नयाँ प्रविधिको माग

ज्ञानमाण्डू।पाल्पामा युवाहरूलाई कृषि व्यवसाय गर्न कृषिमा अनुदान रकम प्रोत्साहन स्वरूप उपलब्ध गराइएको छ । अनुदान रकमले केहीले सही ठाउँमै राम्रै सदुपयोग गरेका छन् त केहीले अनुदान लिनका लागि मात्र व्यवसाय गरेको पाइएको छ ।

यसबाट राज्यले जुन उद्देश्यले बजेट दिएको छ सोअनुसार सही ठाउँमा उपयोग नभएको रामपुरका कृषकको गुनासो छ । रामपुर नगरपालिका–४ को कार्यालयले आयोजना गरेको कृषकसँगको अन्तरक्रिया कार्यक्रममा कृषकले अनुदानको ठाउँमा प्रविधिको माग गरेका छन् । 

कृषकलाई अनुदानमुखी नभई प्रविधि सिकाएर व्यवसायमुखी बनाउन सकियो भने कृषि व्यवसायबाट मनग्य आम्दानी लिन सक्ने अगुवा कृषक दिलबहादुर थापा बताउँछन् । “अनुदानले व्यवसायमुखीभन्दा पनि के पाइन्छ कति पाइएला भन्नेमा मात्र सीमित बनायो, कृषकलाई अनुदानको ठाउँमा खेती गर्ने प्रविधि आवश्यक छ”, उनको भनाइ छ । उनले जग्गा भाडामा लिएर करिब दश रोपनीभन्दा बढी जग्गामा तरकारी खेती गरेका छन्  । विदेशबाट फर्केर तरकारी खेती सुरु गरेका थापाले आफूले खेती गर्ने प्रविधि नजान्दा व्यवसायमा समस्या पर्ने गरेको बताए । 

धेरैजसो कृषकले प्रविधि नबुझेर खेती गर्दा लागत अनुसारको उत्पादन लिन नसकेको अर्का कृषक विनोद श्रेष्ठ बताउछन् । जानी नजानी बिना प्रविधि व्यवसाय सुरु गर्दा उत्पादन लिन नसकेको श्रेष्ठको भनाइ छ । “कृषकले अनुदानमा लोभिएर व्यवसाय गर्दा अनुदान अवधि सकिने बित्तिकै व्यवसायबाट पलायन भएका छन्, अनुदानभन्दा पनि व्यवसाय गर्ने नयाँ तरिका सिकाउन सके त्यसबाट दीर्घकालीन प्रतिफल लिन सकिन्छ”, श्रेष्ठले भने । 

अन्तरक्रिया कार्यक्रममा सहभागी कृषकले वास्तविक कृषकले सेवा सुविधा नपाउने र टाठा बाठा कृषकको मात्र अनुदानमा हालीमुहाली रहेको बताए । अनुदानमा वास्तविक कृषकलाई भन्दा पनि आफन्त र नजिकका व्यक्तिहरूलाई नै पटक पटक छनोट गरिँदा अनुदानको अवधिभर मात्र व्यवसाय गर्ने र अनुदान अवधि सकिएपछि व्यवसाय पनि छाड्ने क्रम बढेको छ । वास्तविक कृषक पहिचान हुनुपर्ने कृषकको माग छ । 

साना कृषकलाई उपेक्षा र नक्कली कृषकको अनुदानमा हालीमुहाली भएका कारण उत्पादकत्व नबढेको अन्तरक्रियामा सहभागीले बताएका छन् । अब रामपुर नगरलाई समृद्ध बनाउन साना र वास्तविक कृषकको संरक्षण हुनुपर्ने कृषकको सुझाव छ । 

नगरपालिकाले एक वडा एक उत्पादन नीति ल्याएको छ । कृषकलाई प्रविधिमा दक्ष बनाउन र नयाँ कुरा सिकाउन ठुलो क्षमताको उच्च प्रविधिको (हाइटेक) टनेल निर्माण गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । “युवाहरूलाई यहीँ बसेर कृषि व्यवसाय गर्न प्रोत्साहन गर्दै प्रविधि सिकाउन हाइटेक बनाएका छौँ, यसबाट प्रत्यक्ष धेरै ज्ञान सीप सिकेर खेती गर्न कृषकलाई सहयोग मिल्नेछ”, नगर प्रमुख थापाको भनाइ छ । कृषकलाई आवश्यक पर्ने प्रविधि तथा ज्ञान सीप उपलब्ध गराउने र उत्पादित तरकारीले बजार नपाएमा नगरपालिकाले बिक्रीको प्रबन्ध मिलाइदिने नगर प्रमुख थापाले बताए । 

नगरपालिका तथा वडा कार्यालयबाट कृषि अनुदान सुविधा लिएका कृषकको व्यवसाय अनुगमन गर्ने र उद्देश्यअनुसार नगरेको पाइएमा सेवा सुविधा कटौती गर्ने प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताए । वडा नं ४ को कार्यालयले वडाका टोल टोल बस्ती बस्तीमा पुगेर कृषकको व्यवसाय अनुगमन गरेर मात्र विभिन्न कृषि सामग्री तथा बीउ विजन वितरण गर्ने गरिएको वडाध्यक्ष एकबहादुर नेपालीले बताएका छन् । 

व्यवसायमा हौसला प्रदान गर्न कृषि सामग्री, बीउ विजन सहयोग र विभिन्न बाली लगाउने तरिका, गोडमेल, उत्पादन र बजारीकरणका सम्बन्धमा कृषि प्राविधिक बोलाएर कृषकलाई तालीम दिने गरेको अध्यक्ष नेपाली बताउँछन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x