सुदूरपश्चिममा ‘चेली त्यार’ शुरु

ज्ञानमाण्डू।सुदूरपश्चिम प्रदेशमा माघी पर्वको रौनक सकिएसँगै चेलीको त्यार सुरु भएको छ । विवाह गरेर पराईको घरमा गएकी छोरी चेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई सुदूरपश्चिमको स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात् त्यारमाडो दिने भन्ने गर्दछन् । विवाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइतीघरमा बोलाएर होस् वा उनकै घरमा गएर उक्त ‘चेली त्यार’ (त्यारमाडोे) दिने चलन रहेको छ । 

आफ्नो माइती नभएका अर्थात् आमाबुबा, दाइ, भाउजू नभएका छोरी चेली भने यो महिनालाई दुःखको महिना सम्झेर रुने गर्ने गरेको शिखर नगरपालिका–१ कपल्लेका स्थानीयवासी निलम थापाले बताइन् । उनले भनिन्, “महिनाभरि माइतीले छोरीलाई रोटी अर्थात् त्यार दिने गर्दछन्, माइतमा कोही नभएका दिदीबहिनीलाई त माघ महिनाभरि बस्न मुस्किल हुन्छ, दुःख मात्रै हुन्छ ।” माइती पक्षका कोही नभएका छोरी चेली प्रायः यो महिनाभरि जङ्गलमा घाँस काट्न जाँदा होस् वा अन्य एकान्त ठाउँमा गएर विरहका गीत गाएरै बिताउने गरेको यहाँका स्थानीय महिला बताउँछन् । 

माघ महिनाभरि यहाँका छोरी चेली कहिले माइती आउलान् र त्यारमाडो अर्थात् ‘चेली त्यार’ ल्याउलान् भन्ने पर्खाइमा बस्ने गरेको केआइसिंह गाउँपालिका–५ का माधवी चन्द बताउँछिन् । उनले भनिन्, “बिहान आँगनमा काग करायो भने माइतीबाट कोही आउँछन् की भन्ने आशले मन खुसी भएको हुन्छ, बेलुकीसम्म कोही आउँदैन, अनि मन खिन्न हुन्छ, माघ महिना यसरी बित्छ छोरीको ।” सुदूरपश्चिमका दुई जिल्ला कैलाली तथा कञ्चनपुरबाहेक अन्य जिल्ला अछाम, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा तथा डोटीमा छोरीलाई त्यार दिने अर्थात् ‘चेली त्यार’ दिने चलन परापूर्वकालदेख चल्दै आएको छ । छोरी धनी होस् वा गरिब, नजिक होस् वा टाढा त्यार अनिवार्य दिनै पर्ने नियम रहेको छ यहाँका पहाडी जिल्लामा । छोरीलाई दिइने त्यारमा सेल, मास लगाएको पुरी, सुदूरपश्चिमको प्रख्यात रोटी भुने (चामलको पिठोबाट बनेको), माडालगायतका परिकार पकाएर छोरी पक्षकालाई करिब हप्ता दिन पुग्ने गरी दिने चलन रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी गौरीदेवी बलायरले बताइन् । 

“एक छोरीको घरमा हप्ता दिन पुग्ने गरी त्यार दिनुपर्छ, कसै कसैका त पाँचदेखि सात छोरी हुन्छन् उनीहरूलाई साह्रै समस्या भइहाल्छ,” उनले भनिन्, “त्यार नदिई नहुने, दिँदा आफूलाई घरमा पछि खान पुग्दैन ।” डोटीलगायत यहाँका अन्य जिल्लामा छोरीलाई त्यारमाडो दिने चलन माघ महिनाभरि नै चल्ने गर्दछ । यहाँका पहाडी जिल्लामा अहिले ‘चेली त्यार’ को चहलपहल निकै बढेको छ । माघ महिना भरी सुदूरपश्चिममा जताततै कोसेली बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमाहरू प्रशस्तै भेटिने गरेका छन् । 

सुदूरपश्चिममा माघ महिनालाई धार्मिक महिनाका रूपमा लिने गरिन्छ । यो महिनामा छोरी चेली, ज्वाइँ र नातिनातिनालाई खानेकुरा तथा केही दान दक्षिणा दिए धर्म कमाइन्छ भन्ने जन विश्वासले यहाँका स्थानीयवासीले माघ महिनामा खानेकुरा तथा केही दान दक्षिणा दिने गरेको दिपायलका स्थानीयवासी तथा व्यापारी गणेश बोहराले बताए । उनले भने, “माघ महिनामा दान दक्षिणा दिए धर्म कमाइन्छ भनेर हामी छोरीलाई त्यार दिने गर्छौँ, माइती नहुने छोरीलाई ठुलो दुःख हुन्छ ।”रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x