खोलाखर्कमा बल्यो बत्ती

ज्ञानमाण्डू।बागलुङ जिल्लाको दुर्गम गाउँ बरेङ गाउँपालिकाका–१ मा विद्युत् पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । धावा, मजुवा, टोड्के र खोला खर्कको ३६ घरमा बिजुली बत्ती बलेपछि खुसीको कुनै सीमा नरहेको हो । 

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले बरेङ गाउँपालिकाका–१ मा केन्द्रीय प्रसारण लाइन जोडिएको र विद्युतीकरण सम्पन्न भएको जानकारी दिए । गाउँपालिका–१ का वडाध्यक्ष नरसिंह पुनले भने , “केन्द्रीय विद्युत् आएसँगै यहाँका जनताले ठुलो राहत महसुस गरेका छन् ।” 

अहिले बरेङ गाउँपालिका अन्य वडामा समेत धमाधम विद्युतीकरण जारी रहेको छ । पाँच वडामध्ये २ र ५ नं वडाका सबै घरमा केन्द्रीय विद्युत् पुगेको छ । आगामी वर्षसम्म गाउँपालिकाका सबै वडामा विद्युतीकरण गर्ने जनाइएको छ । रु १८ लाख ५० हजारको लागतमा २५ किलोवाट क्षमताको ट्रान्सफर्मरबाट ती ३६ घरमा विद्युतीकरण गरिएको हो । 

बरेङसहित ताराखोला, ढोरपाटन र बडिगाड गाउँपालिकामा धमाधम विद्युतीकरणको काम चलिरहेको विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख गोशलीका अनुसार जिल्लाको करिब ४५ प्रतिशत घरमा मात्र केन्द्रीय विद्युत्को पहुँच पुगेको छ । 

आगामी वर्षभित्र २५ देखि २० प्रतिशत थप गर्ने गरी विद्युतीकरणको काम भइरहेको छ । निसीखोला र तमानखोलामा केन्द्रीय विद्युत् विस्तार हुन सकेको छैन ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x