राजश्व चुहावट नियन्त्रण गर्न छलफल

ज्ञानमाण्डू।राजश्व चुहावट नियन्त्रण र उद्योग व्यापारमा देखिएका समस्या समाधान गर्न राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, भन्सार विभाग, उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घबिचको छलफल शनिवार यहाँ सम्पन्न भएको छ । 

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले आन्तरिक राजश्व, भन्सार, राजश्व विभाग प्रत्यक्ष उद्योग/व्यापार क्षेत्रसँग सरोकार राख्ने निकाय भएकाले उद्योग/व्यवसाय क्षेत्रको समस्या समाधानमा यी तीन निकायको महत्त्वपूर्ण भूमिका हुने बताए । उनले राजश्व चुहावट नियन्त्रण गर्न ऐन, नीति नियम कार्यान्वयनमा देखिएका जटिलतालाई सहज बनाउन सम्बन्धित निकायको ध्यान जानुपर्ने कुरामा जोड दिए । 

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले उद्योग/व्यवसाय क्षेत्रका समस्या प्रस्तुत गर्दै उद्योग र व्यापार/व्यवसाय निर्वाधरूपमा सञ्चालन गर्न कानुनी अस्पष्टता रहेको जनाए । आन्तरिक राजश्व विभागका महा निर्देशक विनोदबहादुर कुँवरले व्यवसायीले भोग्नुपरेको समस्या समाधानमा आन्तरिक राजश्व विभागले सदैव सहयोग पुर्‍याउने उल्लेख गरे । उनले औद्योगिक क्षेत्रको उत्पादन वृद्धि भई व्यापारमा सन्तुलन ल्याउनका साथै मुलुकलाई समृद्ध बनाउने निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिए । निर्देशक कुँवरले निजी क्षेत्रको विकासका लागि नीतिमा देखिएका अप्ठ्यारालाई क्रमशः सच्याएर लैजाने प्रतिबद्धता व्यक्त गरे । 

राजश्व अनुसन्धान विभागका महा निर्देशक दीर्घराज मैनालीले उद्योगी/व्यवसायीबाट प्राप्त सुझावलाई आगामी दिनमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले बदलिँदो नीति नियममा शुरुआती चरणमा अप्ठ्याराहरू देखिएको भए पनि यसलाई क्रमशः सुधार गरिँदै लगिएको जानकारी दिए । भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीको आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्दै समृद्ध राष्ट्र बनाउन सरकारसँगै निजी क्षेत्रसमेत बलियो हुनुपर्ने धारणा रह्यो । 

कार्यक्रममा उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, कार्यकारिणी समिति सदस्य, जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं प्रतिनिधि, राजश्व अनुसन्धान कार्यालय इटहरी, भन्सार कार्यालय विराटनगर, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख तथा उद्योगी व्यवसायीको सहभागिता थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x