नेपालमा वैदेशिक लगानीका लागि उपाध्यक्ष ढकालको आग्रह

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवम् लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँ दिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकोले लगानीको वातावरण बनेको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थीर सरकार बनेको र लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएकोले नेपालका कृषि, पर्यटन, उर्जा, सेवा क्षेत्र लगायतका क्षेत्रमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका हुन् ।

नेपाल सरकारले आगामी महिना लगानी सम्मेलनको आयोजना गरेको र नेपालमा लगानीका थूप्रै सम्भावनाहरु रहेको स्मरण गराउँदै उहाँले सो सम्मेलनमा सहभागी भई नेपालमा तिनको अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्ताहरुलाई आमन्त्रण गरेका छन् ।

श्रमिकका समस्याका विषयलाई सम्बोधन गर्नेगरी श्रमसम्बन्धी कानुन निर्माण भएका, देशमा राजनीतिक स्थिरता देखिएको र वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माणमा सरकार लागिपरेकोले नेपालमा सम्भावना रहेका कैयौँ क्षेत्रहरुमा लगानी गरी पारस्पारिक आर्थिक लाभ लिन सार्क क्षेत्रका लगानीकर्ताहरुलाई ढकालले आग्रह गरे ।

ढकालले नेपाल सरकारद्धारा हालै जारी गरिएका श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानुनको कार्यान्वयनका साथै श्रम बजारको विस्तार एवम् प्रादेशिक रुपमा श्रमिकहरुको क्षमता अभिबृद्धि गरी मुलुकमा औद्योगिक विकास र प्रवर्धनमा जोड दिएका छन् ।

दक्षिण एसियाका लगानीकर्ता एवम् रोजगारदाताहरुले यस खालको मञ्चबाट निकै फाइदा लिन सक्ने धारणा राख्दै ढकालले सार्क देशहरुमा आर्थिक, सामाजिक, सांस्कृतिकका साथै लगानीका क्षेत्रहरुमा पनि साझा खालका अवसर र चुनौतीहरु रहेकाले यस्ता मञ्चबाट साझा लाभ लिन सकिने बताएका छन् ।
यस दक्षिण एसियाली क्षेत्रका सरकारहरुलाई पनि आर्थिक सामाजिक क्षेत्रको विकास तथा आपसी आर्थिक हित प्रवर्धनका लागि आवश्यक र उपयुक्त नीति बनाउन यस्ता मञ्चबाट सामुहिक रुपमा सुझाव दिन या आग्रह गर्न सकिने उनले बताए ।

उनले यस रोजगारतादाहरुको साझा मञ्चमार्फत सार्क क्षेत्रमा लगानी प्रवर्धन गर्न, आर्थिक हितका साझा मुद्धाहरुमा मिलेर काम गर्न, पर्यटन, उर्जा, सेवा क्षेत्रलगायतमा लगानीका सम्भावनाहरुको पहिचान गरी द्विपक्षीय एवम् बहुपक्षीय रुपमा लाभलिने गरी पारस्परिक सहयोगको वातावरण निर्माण गर्न पनि सबैसँग आग्रह गरेका छन् ।

दक्षिण एसियाली रोजगारदाता मञ्चको नयाँ दिल्लीमा आजदेखि शुरु भएको यो आठौँ बैठक हो । यो बैठक तीन दिनसम्म चल्ने छ । यस बैठकमा नेपाललगायत सार्क राष्ट्रका रोजगारदाताहरुको सहभागिता रहेको छ ।
सार्क देशका उद्योग बाणिज्य संघ, महासंघ तथा चेम्बर अफ कमर्स लगायतमा आबद्ध रोजगारदाताहरु सम्मिलित यस मञ्चमार्फत रोजगारदाताहरुले आफ्ना क्षेत्रका समस्या, सम्भावना र चुनौतीहरुको खोजी गरी तिनको समाधानका उपायहरुका बारेमा छलफल गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीबाट ढकालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x