प्रदेश १ मा उच्च वृद्धिको सम्भावना भएका कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सिलेरेटर कार्यक्रम सुरु

कृषिमा आधारित उद्यमीहरूलाई नवप्रवर्तन र आर्थिक वृद्धि तर्फ थप अग्रसर गराउने उद्देश्यका साथ सञ्चालित एक्सिलेरेटर कार्यक्रमको लागि आकाङ्क्षी उद्यमीहरूबाट आवेदन खुला गरेको कम्पनीले बताएको छ ।

प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष सञ्चालक आद्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड र सहज–एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम) को मुख्य साझेदारीमा प्रदेश १ मा उच्च वृद्धिको सम्भावना भएका कृषि उद्यमहरूलाई लक्षित गर्दै “आद्यन्त एक्सिलेरेटर कार्यक्रम” विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सुरुवात गरेको छ ।

विराटनगरस्थित बिग होटलमा आयोजना गरिएको  पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासङ्घ केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, प्रदेश कृषि मन्त्रालयका उपसचिव पशुपति पोखरेल, प्रदेश लगानी प्राधिकरणका सिइओ डा. सरोज कोइराला, सहज कार्यक्रमका टिम लिड रिक भान डेर क्याम्प र आद्यन्तका संस्थापक मनोज पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोसँगै कार्यक्रममा सहभागी हुनको लागि प्रदेश नं. १ का कृषि उद्यमीहरूबाट आवेदन आव्हान गरेको बारे कम्पनीले जानकारी गराएको छ ।

साथै प्रदेश न. १ मा लगानी प्रवर्द्धनका लागि प्रदेश लगानी प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १, सहज परियोजना र आद्यन्त बिच औपचारिक समझदारी गर्ने प्रक्रिया अगाडी बढेको जानकारी समेत कम्पनीले गराएको छ ।

यस कार्यक्रमको प्राथमिक लक्ष्य प्रदेश १ का कृषि व्यवसायहरूको क्षमता बढाई उनीहरूलाई थप लगानी प्राप्त गर्नका लागि पुँजीमा पहुँच पुर्‍याउन सहयोग गर्ने रहेको छ।  प्रदेश १ पर्यटन, कृषि, व्यापार र उद्योगमा अग्रणी प्रदेश हो । यस प्रदेशमा उपलब्ध स्रोतहरूको समुचित उपयोग गरी समृद्ध प्रदेश बन्ने ठुलो अवसर रहेको छ। तथापि त्यसको उचित लाभ लिन सकिएको छैन। एक्सेलरेटर कार्यक्रमले कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि आवश्यक स्रोत–सामाग्री र व्यावसायिक परामर्श प्रदान गरी लगानीयोग्य बन्न मद्दत गर्नेछ। जसले प्रदेशमा उपलब्ध स्रोतहरूको व्यावसायिक उपयोग गरी प्रदेशलाई समृद्ध र आत्मनिर्भर बन्न मद्दत पुग्नेछ। कार्यक्रमले कृषि–उद्यमीहरूलाई व्यावसायिक वृत्तमा तथा वृत्त भन्दा बाहिर रहेका उद्योगी–समुदायसँग सम्पर्क विस्तार गर्न मद्दत हुनुका साथै थप रोजगारी सिर्जना गर्न मद्दत गर्ने उद्देश्य राखेको कम्पनीले बताएको छ ।

यसअघिका एक्सिलेरेटर कार्यक्रमहरू राजधानीमा मात्र केन्द्रित हुने गरेको गुनासोबिच आद्यन्त एक्सिलेरेटर कार्यक्रम नेपालमै पहिलो पटक राजधानी बाहिर, प्रदेश १ लाई केन्द्रित गरेर हुन लागेको हो। यसबाहेक नेपालमै पहिलो पल्ट सार्वजनिक निजी साझेदारीको मोडलमा एक्सिलेरेटर कार्यक्रम सञ्चालन हुन गइरहेको हो। यसमा प्रदेश सरकारको तर्फबाट प्रदेश लगानी प्राधिकरण, निजी क्षेत्रको सबैभन्दा ठुलो र साझा सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ लाई समेटेको कम्पनीले जानकारी गराएको छ ।

प्राप्त आवेदनहरूबाट १० वटा  उद्यमीहरूलाई छनौट गरी १२ हप्ता सम्म पुँजी, बजार पहुँच, र विविध प्राविधिक लगायतका आन्तरिक चुनौतीहरू केन्द्रित परामर्श प्रदान गर्ने छ ।

सो एक्सेलरेटर कार्यक्रमले व्यावसायिक वृत्तमा रहेका विभिन्न सरोकारवालाहरूले एक आपसमा गर्ने अन्तरक्रिया र सहकार्यको तरिकामा परिवर्तन ल्याउने विश्वास कम्पनीले गरेको बताएको छ। साथै यसले उद्यमीहरूलाई उनीहरूको व्यावसायिक पर्यावरणभन्दा बाहिरको सहयोग र स्रोतहरूको साथै सम्बन्धित क्षेत्रका विशेषज्ञ र सल्लाहकारहरूको बृहत् सञ्जाल सम्म पहुँच समेत प्रदान गर्नेछ। आवेदनका लागि मिति २०७९ माघ ४ गते देखि १८ गते सम्म खुला गरेको सो कम्पनीले जानकारी गराएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x