एफएनसीसीआई नवनिर्वाचित प्रतिनिधिमण्डल र प्रधानमन्त्री बीच भेटवार्ता, निजी क्षेत्रलाई अख्तियारले हेर्न मिल्दैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग शुक्रवारको भेटका क्रममा प्रधानमन्त्री दाहालले उक्त व्यवस्था प्रस्ताविक विधेयकमा भए पनि पछि हटाइने बताउनुभएको हो ।

राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयकमा निजी क्षेत्रलाई समेत समेट्ने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गर्नुभएको थियो ।

अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साहित हुने र लगानीको वातावरण बिग्रिने तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराउनुभएको थियो ।

संविधानको धारा २३९ अनुसार अख्तियारले निजी क्षेत्र हेर्न मिल्दैन । यसबारे महासङ्घले रक्षा एवं कानुन मन्त्री पूर्णबहादुर खड्काको पनि ध्यानाकर्षण गराइसकेको छ ।

यसै विषयमा बिहीबार काँग्रेस संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा सांसदहरूले निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारमा ल्याएर अर्थतन्त्र थप जोखिममा पार्न नहुने धारणा राख्नुभएको थियो ।

यसै गरी, भेटमा बैंकिग प्रणालीमा करिब दुई खर्ब रुपैयाँ तरलता उपलब्ध हुँदाहुँदै पनि कर्जा प्रवाह नभइरहेको अवस्थामा ब्याजदर कम गर्न तत्काल नीतिगत उपाय अवलम्बन गर्नुपर्ने तर्फ अध्यक्ष ढकालले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो  ।

साथै, बजार अझै चलायमान नभइसकेको अवस्थामा ऋणको पुनर्संरचना एवं पुनर्तालिकीकरण पनि आवश्यक रहेकोमा अध्यक्ष ढकालको जोड थियो । ऋणको सावा ब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको छ । बैङ्कहरूको खराब कर्जा अनुपात पनि ४ प्रतिशत हाराहारी पुगिसकेको छ । असार मसान्तमा यो बढ्ने सम्भावना भएको हुदा कर्जाको पुनर्संरचना एवं पुनर्तालिकीकरण आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो ।

अध्यक्ष ढकालले पुँजीगत खर्च बढाउन र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्न सस्तो दरमा विद्युत् उपलब्ध गराउन पनि आग्रह गर्नुभएको थियो । अहिले साना उद्यमी व्यवसायी मिस म्याच सम्बन्धी चैत्र मसान्तसम्म दिइएको व्यवस्थाका कारण समस्यामा रहेको हुँदा यसको समयावधि थप्न र करको दायरा विस्तार गर्न आवश्यक रहेको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

यसै गरी अध्यक्ष ढकालले आफूले निजी क्षेत्रको मर्यादाक्रमलाई प्राथमिकतामा राखेको र यसबारे प्रधानमन्त्री दाहाल सकारात्मक रहनुभएकोमा आभार व्यक्त गर्नुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले निजी क्षेत्रका समस्या सम्बोधन गरी निर्बाध रूपमा काम गर्ने वातावरण बनाउन आफू सधैँ तयार रहेको बताउनुभयो । आफ्नो भारत भ्रमणका क्रममा महासङ्घको सहकार्यमा लगानी सम्मेलन आयोजना गर्ने तयारी भइरहेकोमा प्रधानमन्त्री दाहालले खुसी व्यक्त गर्नुभयो ।

उपप्रधान मन्त्री तथा गृह मन्त्री नारायण काजी श्रेष्ठको समेत उपस्थिति रहेको उक्त अवसरमा महासङ्घ अध्यक्ष ढकाल सहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्स्ना श्रेष्ठ, कोषाध्यक्ष निरक के.सी. लगायत कार्यकारिणी समिति सदस्यहरूको सहभागिता थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x