माछापुच्छ्रे बैङ्कद्वारा लाभांश र अग्राधिकार शेयर प्रस्ताव


माछापुच्छ्रे बैङ्क लिमिटेडले आगामी असोज १० गते २७औँ वार्षिक साधारण सभा गर्ने भएको छ। भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा पोखराको होटेल पोखरा ग्राण्डमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो।

सभाले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट प्रस्ताव गरिएको लाभांशलाई अन्तिम स्वीकृति दिनेछ। बैङ्कले हाल कायम चुक्ता पुँजीमा ४ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करसहित ४ प्रतिशत नगद लाभांश, कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। गत वर्ष लगानीकर्ताले लाभांश नपाएको भए पनि अघिल्लो वर्ष (२०७९/८०) बैङ्कले १४ प्रतिशत लाभांश वितरण गरेको थियो।

सभामा सर्वसाधारण तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्तिलाई अनुमोदन गर्ने, वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहनेछ।

त्यसै गरी, बैङ्कले प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका ३ अर्ब रुपैयाँ बराबरका अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ। सो शेयरमा ८.२५ प्रतिशत लाभांश दिने प्रस्ताव गरिएको छ। अग्राधिकार शेयर जारीसँगै पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्ध पत्र संशोधन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले निर्णय गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस आधारमा भदौ २६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र लाभांश पाउने र सभामा भाग लिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x