अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कद्वारा २५ अर्बको एक वर्षे ऋणपत्र निष्कासन


बैङ्किङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैङ्कले २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैङ्क ऋणपत्र निष्कासन गरेको छ। केन्द्रीय बैङ्कले एक वर्ष अवधिको यो ऋणपत्र बोलकबोल प्रणालीमार्फत बजारमा ल्याएको हो।

राष्ट्र बैङ्कका अनुसार जारी गरिएको ऋणपत्रलाई “नेपाल राष्ट्र बैङ्क ऋणपत्र २०८३ ‘झ’” नाम दिइएको छ। उक्त ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने यसको साँवा भुक्तानी २०८३ पुस ३० गते हुने जनाइएको छ। ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।

बोलकबोल प्रक्रियामा सहभागी हुँदा एकल वा बहु ब्याजदर दुवै विकल्प प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यसमा वाणिज्य बैङ्क, विकास बैङ्क तथा फाइनान्स कम्पनीहरूले सहभागिता जनाउन पाउने छन्।

केन्द्रीय बैङ्कका अनुसार प्राप्त प्रस्तावहरूलाई न्यूनतमदेखि उच्च ब्याजदरको क्रम अनुसार मिलाइ आह्वान गरिएको रकम वा समितिले तोकेको सीमासम्म स्वीकृत गरिनेछ। सोही प्रक्रियाबाट तय हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा मान्दै, उक्त दर वा त्यसभन्दा कम ब्याजदरमा प्रस्ताव गर्ने संस्थालाई ऋणपत्र बाँडफाँट गरिनेछ।

यस अघि पनि बैङ्किङ प्रणालीको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले पुस २९ गते २० अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र निष्कासन गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x