आयात प्रतिस्थापनका लागि स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नुपर्छ, वरिष्ठ उपाध्यक्ष ढकाल

chandra dhakal

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्न र विदेशी मुद्राको संचिति बढाउन स्वदेशी उद्योगहरूलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रवार राजधानीमा आयोजित नेपाल मुद्रण उद्योग महासङ्घको चौथो महाधिवेशन तथा साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले स्वदेशी उद्योगहरूले भोगेका समस्याहरूलाई समाधान गर्न पहल गर्ने हो भने यसले आयात प्रतिस्थापन गर्नुका साथै ठुलो मात्रामा बाहिरिने पुँजीलाई स्वदेशमै रोक्न सकिने बताउनुभएको छ ।

“नयाँ नयाँ टेक्नोलोजी तथा गुणस्तरीय प्रविधिको अभावमा मुद्रण व्यवसायसँग सम्बन्धित वस्तुहरूको आयातमा मात्र ठुलो रकम मुलुक बाहिर जाने गरेको छ । यस सम्बन्धी समस्याको समाधान गर्दै स्वदेशी उद्योगहरूलाई प्रवर्द्धन गर्न सकेमा यसले आयात प्रतिस्थापन गर्दै अहिले बाहिरिएको ठुलो रकम मुलुकभित्रै रोक्न सकिन्छ”, उहाँले भन्नुभयो ।
८० अर्बको बजार रहेको मुद्रण उद्योगको समस्या समाधान गर्न महासङ्घको तर्फबाट आफूले पहल गर्ने बताउँदै, उहाँले यसका लागि लिखित सुझावहरू पेस गर्न आग्रह गर्नुभएको छ ।

आइएमई समूहका अध्यक्षसमेत रहेका ढकालले आफ्नो समूहले पनि कागज उद्योगमा लगानी विस्तार गरेको जानकारी गराउनुभयो । “अहिले नेपालमा गुणस्तरीय कागज उत्पादन हुन सकेको छैन । यो अभावलाई ध्यानमा राखेर आइएमई समूहले कागज उद्योगमा लगानी विस्तार गरेको छ । यो नेपाल मै गुणस्तरीय कागज उत्पादनमा कोशेढुंगा साबित हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

सरकारी तथा निजी मुद्रण उद्योगबिचको विभेदको बारेमा बोल्दै उहाँले सरकारले सबै उद्योग व्यवसायलाई समान दृष्टिले हेर्नुपर्ने धारणा राख्नुभयो । “सरकारी स्वामित्वका मुद्रण उद्योग तथा निजी क्षेत्रबाट सञ्चालित मुद्रण उद्योगबिच विभेद हुने गरेको गुनासो सुनेको छु । यदि त्यस्तो छ भने यसलाई तत्काल हटाउन जरुरी छ । महासङ्घ यहाँहरूको मागप्रति आफ्नो ऐक्यबद्धता जाहेर गर्छ र नेपाल सरकारले ल्याउने आगामी बजेटमा यसलाई समाधान गर्ने गरी कार्यक्रम ल्याउन संयुक्तरुपमा पहल गरौँ”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x