वाणिज्य बैङ्कहरूको प्रति शेयर आम्दानी औसतमा १८ रुपैयाँ ८८ पैसा, कसको कति ? | EPS of Commercial Banks

commercial banks of nepal
ज्ञानमाण्डू। चालु आ.व.को पहिलो ६ महिनाको सार्वजनिक वित्तीय विवरण अनुसार वाणिज्य बैङ्कहरू मध्ये सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैङ्कले आर्जन गरेको छ भने समीक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी एनआईसी एशिया बैङ्कको रहेको देखिएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको अवधिमा नेपालका अधिकांश वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा औसतमा १०.१० प्रतिशतले नाफा वृद्धि गर्न सफल हुँदै कुल ३४ अर्ब २१ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको मुनाफा ३१ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

प्रतिशेयर आम्दानीमा एनआईसी एशिया बैङ्क अब्बल

चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको अवधिको वित्तीय विवरण अनुसार औसतमा वाणिज्य बैङ्कहरूको प्रति शेयर आम्दानी १८ रुपैयाँ ८८ पैसा रहेको छ। गत वर्षको तुलनामा वाणिज्य बैङ्कहरूको प्रति शेयर आम्दानी १.५७ प्रतिशतले घटे्को तथ्याङ्कले जनाएको छ। यस अवधिमा ११ वटा बैङ्कको प्रति शेयर आम्दानी औसत भन्दा बढी रहेको छ भने १६ यस्ता बैङ्कको प्रति शेयर आम्दानी औसत भन्दा कम रहेको देखिएको छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी एनआईसी एशिया बैङ्कको रहेको छ । सो बैङ्कको प्रति शेयर आम्दानी यस अवधिमा ४१ रुपैयाँ ४३ पैसा रहेको छ। उक्त बैङ्कले चालु आ.व.को पहिलो ६ महिनामा २ अर्ब ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। त्यस्तै, सरकारकी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको प्रति शेयर आम्दानी गत वर्षको तुलनामा ३८ रुपैयाँ ८४ पैसाबाट घटेर २७ रुपैयाँ ५४ पैसा पुगेको छ।

त्यसै गरी, यस अवधिमा सिद्धार्थ बैङ्कको प्रति शेयर आम्दानी २५ रुपैयाँ १२ पैसा, नबिल बैङ्कको २३ रुपैयाँ ५९ पैसा, स्टयाण्डर्ड चार्टर्ड बैङ्कको २३ रुपैयाँ ५ पैसा र ग्लोबल आइएमई बैङ्कको २२ रुपैयाँ ३९ पैसा रहेको छ ।
यस अवधिमा सर्वाधिक कम प्रति शेयर आम्दानी हिमालयन बैङ्कको रहेको छ। उक्त बैङ्कको प्रति शेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस पश्चात्, कम प्रति शेयर आम्दानी भएको सिभिल बैङ्कको प्रति शेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा, कुमारी बैङ्कको १२ रुपैयाँ ९४ पैसा र बैङ्क अफ काठमाण्डूको १३ रुपैयाँ ५४ पैसा रहेको तथ्याङ्कले जनाएको छ।

११ वटा वाणिज्य बैङ्कले प्रति शेयर आम्दानी बढाएको वित्तीय विवरण प्रकाशित गर्दा १६ वाणिज्य बैङ्कहरूले भने गत वर्षको दोस्रो त्रैमासको तुलनामा प्रति शेयर आम्दानीमा गिरावट आएको विवरण प्रकाशित गरेका छन्। 

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै प्रति शेयर आम्दानी बढाउनेमा सिद्धार्थ बैङ्क रहेको छ, बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा ७०.७७ प्रतिशतले प्रति शेयर आम्दानी बढाएर १४ रुपैयाँ ७१ पैसाबाट २५ रुपैयाँ १२ पैसा पुर्याएकाे देखिन्छ छ भने चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै प्रति शेयर आम्दानी घटाउने राष्ट्रिय वाणिज्य बैङ्क देखिएको छ । गत वर्षको तुलनामा बैङ्कको प्रति शेयर आम्दानी २९ दशमलव ०९ प्रतिशतले घटेर ३८ रुपैयाँ ८४ पैसाबाट २७ रुपैयाँ ५४ पैसामा सीमित भएको छ ।

अस्वीकरण (डिस्क्लेमर): सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x