बरेङमा ‘एक घर एक महिला रोजगार’ कार्यक्रम

ज्ञानमाण्डू।बरेङ गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन ‘एक घर एक महिला रोजगार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । लघु उद्यममार्फत स्वरोजगारमा महिलालाई जोडेर उत्पादन वृद्धि र आत्मनिर्भर बनाउन सो कार्यक्रम लागू गरेको सो पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

उद्यम गरेर रोजगारीसँग जोडिन चाहने महिलाका लागि गाउँपालिकाले ऋणमा ब्याज अनुदान दिने घोषणा गरेको छ । “गाउँपालिकाभित्रका कुनै पनि वित्तीय संस्थाबाट रु पाँच लाखसम्म ऋण लिँदा त्यसको ब्याज गाउँपालिकाले तिर्ने गरी कार्यक्रम ल्याएका हौँ”, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने , “यो समूह वा संस्था होइन महिला नै अग्रसर हुने गरी तयार पारिएको कार्यक्रम हो ।”

बैङ्क तथा वित्तीय संस्थाले ऋण पत्याउने गरी कार्य योजना महिला आफैँले बनाउनुपर्नेछ । “बैङ्कले ऋण प्रवाह गर्ने पक्का भएपछि हामीले ब्याजको प्रत्याभूति गर्छौँ”, अधिकृत थापाले भने, “झण्झटबिना उद्यममा लाग्न आग्रह गरिएको छ ।” गाउँपालिकाले कृषि, काष्ठ, सिलाइकटाइ वा अन्य जुनसुकै उत्पादनका लागि महिलाले ऋण लिन सक्नेछन् । “उद्यम गर्न समस्या हुने भनेको लगानीले हो”, अध्यक्ष शर्माले भने, “लगानी जुटाउने वातावरण बनेपछि दिदीबहिनी उद्यममा आफैँ लाग्नुहुन्छ ।” 

महिलाले उत्पादन गर्ने कृषिजन्य सामग्रीको बजारीकरणका लागिसमेत गाउँपालिकाले पहल गर्ने जनाएको छ । धेरै उत्पादन र भण्डारण गरेर बिक्री गर्न सकिने खालका कृषि उपज सङ्कलनका लागि सङ्कलन केन्द्र बनाउन बजेटको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । “यसै आर्थिक वर्षमा दुई वटा सङ्कलन केन्द्र बन्छन्, त्यसको लागि रु दश लाखको व्यवस्थापन गरेका छौँ”, अध्यक्ष शर्माको भनाइ छ ।

लगानी गर्ने स्रोतको अभावका कारण समस्या झेल्दै आएका महिला गाउँपालिकाको निर्णयले उत्साहित छन् । ब्याज तिर्न नपरेपछि बैङ्कबाट लिएको ऋणले नाफामूलक व्यवसाय गर्न सकिने उनीहरूको भनाइ छ । “ऋणको ब्याजले पछ्याउँदा लगानी उठाउनै गाह्रो हुन्थ्यो”, स्थानीय विमला शर्माले भनिन्, “ब्याजबिना साँवा त तिर्न सकिहाल्छौँ नि ।” गाउँपालिकाले पनि ब्याजकै कारण महिला उद्यमसँग जोडिन लगानी नगरेको भन्दै ब्याज तिर्ने कार्यक्रम बनाएको हो । महिलाले ऋणका लागि बैङ्कले बनाएका केही सर्त भने पूरा गर्नुपर्ने हुन्छ । ऋणको लागि छनोट गर्ने अधिकार बैङ्क तथा वित्तीय संस्थालाई हुने गाउँपालिकाले जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x