५ महिनामा व्यापार घाटा करिब साढे ७ खर्ब, निर्यातमा भने १०० प्रतिशत अधिकको वृद्धि



ज्ञानमाण्डू।चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालले १ खर्ब २ अर्ब बढीको वस्तुको निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा मात्रै १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ अधिकको वस्तु निर्यात गरेको देखिएको छ ।

पछिल्ला आर्थिक वर्षको तथ्याङ्कलाई मूल्याङ्कन गर्दा निर्यातको व्यापार खर्ब पुर्‍याउन निकै अप्ठ्यारो हुने नेपालले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमै भने खर्ब बढीको निर्यात व्यापार गर्न सफल भएको प्रतिवेदनले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यात व्यापार १०५ दशमलव ६१ प्रतिशतले वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ को मङ्सिर मसान्तसम्मको अवधिमा नेपालबाट कुल ५० अर्ब ५ करोड रुपैंया अधिकको वस्तु निर्यात भएको थियो ।

समीक्षा अवधिमा निर्यात तर्फको व्यापार बढिरहँदा आयातको व्यापारमा पनि नेपालले उल्लेखनीय छलाङ मारेको देखिन्छ । चालु आर्थिक वर्षको पछिल्लो ५ महिनामा नेपालले विभिन्न देशबाट ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ अधिकको वस्तु आयात गरी खपत गरेको देखिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५९.५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ५ खर्ब २५ अर्ब रुपैयाँ अधिकको वस्तु आयात गरेको थियो ।


यता आयात र निर्यात दुवै उकालो लाग्दा व्यापार घाटा पनि सोही अनुरूप ५४ दशमलव ७० प्रतिशतले उकालो लागेको छ । चालु आर्थिक वर्षको मङ्सिर महिनासम्ममा नेपालले ७ खर्ब ३५ अर्ब ५५ करोड रुपैयाँ अधिकको व्यापार घाटा व्यहोरेको तथ्याङ्कले देखाएको छ । यस्तो व्यापार घाटा गत वर्षको सोही अवधिमा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ अधिक रहेको थियो ।

यसरी निर्यात व्यापार बढिरहँदा हाल कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा २५.७२ प्रतिशतले वृद्धि हुँदै १० दशमलव ९३ प्रतिशत कायम भएको छ । यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ८ दशमलव ७० प्रतिशतमा सीमित रहेको थियो । यता, उकालो लाग्दै गरेको आयात व्यापारले समीक्षा अवधिमा कुल वैदेशिक व्यापारको ८९.०७ प्रतिशत हिस्सा ओगटेको देखिन्छ। यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ९१ दशमलव ३० प्रतिशतमा कायम रहेको थियो । गत आर्थिक वर्षको तुलनामा आयात व्यापारको हिस्सामा २ दशमलव ४५ प्रतिशतको गिरावट आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x