विकास बैङ्कहरुलाई नाफा र प्रतिशेयर आम्दानीका आधारमा दाँजेर हेर्दा, हेर्नुहोस् कुन बैंक अब्बल ?


ज्ञानमाण्डू।चालु आ.व.को पहिलो ३ महिनाको सार्वजनिक वित्तीय विवरण अनुसार विकास बैङ्कहरू मध्ये सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैङ्कले आर्जन गरेको छ भने समीक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी लुम्बिनी विकास बैङ्कको रहेको देखिएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको अवधिमा नेपालका अधिकांश विकास बैङ्कहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.३६ प्रतिशत नाफा वृद्धि गर्न सफल हुँदै कुल १ अर्ब ५१ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा विकास बैङ्कहरूको मुनाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । नाफामा उल्लेख्य सुधार देखिए पश्चात् बैङ्कहरूको प्रतिशेयर आम्दानीमा पनि वृद्धि आएको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको अवधिको वित्तीय विवरणको तथ्याङ्क अनुसार विकास बैङ्कहरूको प्रथम त्रैमासमा प्रति शेयर आम्दानी औसतमा ११ रुपैंया ५९ पैसा रहेको देखिएको छ। यस अवधिमा ८ वटा बैङ्कको प्रति शेयर आम्दानी औसत भन्दा बढी रहेको छ भने ८ यस्ता बैङ्कको प्रति शेयर आम्दानी औसत सीमा भन्दा कम रहेको देखिएको छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी लुम्बिनी विकास बैङ्कको रहेको छ । लुम्बिनी विकास बैङ्कको प्रति शेयर आम्दानी यस अवधिमा २९ रुपैंया ३४ पैसा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा लुम्बिनी विकास बैङ्कको प्रति शेयर आम्दानी १६ रुपैंया ४५ पैसा रहेको थियो। उक्त बैङ्कले चालु आ.व.को पहिलो ३ महिनामा २१ करोड ३१ लाख रुपैंया मुनाफा आर्जन गरेको छ।

त्यस्तै, विकास बैङ्कहरू मध्ये सबैभन्दा धेरै नाफा गर्न सफल मुक्तिनाथ विकास बैङ्कको प्रति शेयर आम्दानी गत वर्षको तुलनामा वृद्धि हुँदै २८ रुपैंया ७३ पैसा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा मुक्तिनाथ विकास बैङ्कको प्रति शेयर आम्दानी २४ रुपैंया ४५ पैसा रहेको थियो। मुक्तिनाथ विकास बैङ्कले यस आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ३४ करोड ५५ लाख अधिक नाफा कमाएको देखिन्छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतको वृद्धि हो।

विकास बैङ्कहरू मध्ये सर्वाधिक इपिएसको शीर्षक अन्तर्गत तृतीय स्थान ओगटेको कामना सेवा विकास बैङ्कको प्रति शेयर आम्दानी गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा भने घटेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३१ रुपैंया ५१ पैसा प्रति शेयर आम्दानी रहेको कामना सेवाको इपिएस चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाकोअन्त्यमा आइपुग्दा २६ रुपैंया ५१ पैसा कायम भएको छ। उक्त बैङ्कले चालु आ.व.को पहिलो ३ महिनामा १७ करोड ५७ लाख रुपैंया मुनाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा १२.१८ प्रतिशतको गिरावट हो।

त्यसै गरी, ज्योति विकास बैङ्कको इपिएस चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाकोअन्त्यमा आइपुग्दा २२ रुपैंया ६६ पैसा, गरिमा विकास बैङ्कको २० रुपैंया ०७ पैसा, शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको १७ रुपैंया २९ पैसा र मितेरी डेभलपमेन्ट बैङ्कको प्रति शेयर आम्दानी १२ रुपैंया १७ पैसा रहेको छ।
औसत सीमा भन्दा कम प्रति शेयर आम्दानी भएको एक्सेल डेभलपमेन्ट बैङ्कको प्रति शेयर आम्दानी समीक्षा अवधिमा ८ रुपैंया ०६ पैसा, साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको ७ रुपैंया ९६ पैसा, कर्णाली डेभलपमेन्ट बैङ्कको ४ रुपैंया ५२ पैसा र ग्रिन डेभलपमेन्ट बैङ्कको ४७ पैसा र कर्पोरेट डेभलपमेन्ट बैङ्कको प्रति शेयर आम्दानी समीक्षा अवधिमा २८ पैसामा सीमित भएको छ।

घाटामा रहेका नारायणी डेभलपमेन्ट बैङ्क, सिन्धु विकास बैङ्क र सप्तकोशी डेभलपमेन्ट बैङ्कको प्रति शेयर आम्दानी समीक्षा अवधिमा क्रमशः २ रुपैंया ७८ पैसा, ४ रुपैंया ७९ पैसा र १३ रुपैंया २ पैसा नकारत्कम रहेको तथ्याङ्कले देखेको छ।

यस अवधिमा विकास बैङ्कहरू मध्ये कर्णाली डेभलपमेन्ट बैङ्कले सर्वाधिक प्रति शेयर आम्दानी बढोत्तरी गर्न सफल भएको छ। बैङ्कले गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा ५५५ प्रतिशत अधिकले प्रति शेयर आम्दानी बढाएको छ। यता, सप्तकोशी डेभलपमेन्ट बैङ्कले भने अधिकांश विकास बैङ्कहरू मध्ये सर्वाधिक नकारत्कम प्रति शेयर आम्दानी आएको तथ्याङ्क सार्वजनिक गरेको छ। बैङ्कको प्रति शेयर आम्दानी घाटा गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा २०४ प्रतिशत अधिकले बढेको छ।


अस्वीकरण: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x