वाणिज्य बैंकहरूको पहिलो त्रैमासको नाफा १८ अर्ब अधिक, पाँच बैंक अर्बपति क्लबमा


ज्ञानमाण्डू। अधिकांश वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । केन्द्रिय बैङ्कबाट 'क' वर्ग को इजाजत प्राप्त कुल २७ वटा वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.०६ प्रतिशत नाफा वृद्धि गर्न सफल भएको तथ्याङ्कले देखाएको छ। जसमध्ये धेरै जसो बैङ्कले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गरेका छन् भने चार वाणिज्य बैङ्कहरूले गत वर्षको पहिलो त्रैमासको तुलनामा नाफामा गिरावट आएको विवरण प्रकाशित गरेका छन्।

चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमाससम्मको अवधिमा २७ वाणिज्य बैङ्कले १८ अर्ब ११ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको मुनाफा १४ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । सोमबारसम्म २७ वटै वाणिज्य बैङ्कहरूले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । यस अवधिमा पाँच बैङ्कले एक अर्ब बढी खुद नाफा आर्जन गरेका छन् भने नौ बैङ्कको नाफा ५० करोड भन्दा कम रहेको देखिएको छ । विवरण प्रकाशित गरेकामध्ये एनआईसी एशिया बैङ्क, नबिल बैङ्क, ग्लोबल आइएमई बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र एनएमबि बैङ्कले अर्ब बढी नाफा कमाएका छन् ।


  • पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाउने एनआईसी एशिया बैङ्क

चालु आ.व.को पहिलो ३ महिनामा सबैभन्दा धेरै नाफा एनआईसी एशिया बैङ्कले गरेको छ । बैङ्कले चालु आ.व.को पहिलो ३ महिनामा नै १ अर्ब १८ करोड रुपैंया खुद मुनाफा गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशतले बढी हो ।

त्यसै गरी, नबिल बैङ्कले नाफा १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैङ्कले गत वर्षको भन्दा ७.३९ प्रतिशतले नाफा बढाउन सफल भएको हो । त्यस्तै अर्ब अधिक नाफा कमाएको ग्लोबल आइएमई बैङ्कले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.०४ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राम्रो मुनाफा आर्जन गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क पनि रहेको छ । बैङ्कले गत वर्षको पहिलो त्रैमासको तुलनामा झन्डै २७ प्रतिशतले मुनाफा बढाउँदै १ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, अर्ब अधिक नाफा कमाएको एनएमबी बैङ्कको मुनाफा समीक्षा अवधिमा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । उक्त बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशतको वृद्धि गर्न सफल भएको हो ।

  • सबैभन्दा कम नाफा बैङ्क अफ काठमाण्डूको

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सर्वाधिक कम नाफा कमाउने वाणिज्य बैङ्क, बैङ्क अफ काठमाण्डू लिमिटेड रहेको छ। उक्त बैङ्कले चालु आ.व.को पहिलो ३ महिनामा २५ करोड ३४ लाख रुपैंया मुनाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले बढी हो । त्यसै गरी, सेञ्चुरि कमर्सियल बैङ्कले समीक्षा अवधिमा २७ करोड २४ लाख रुपैंया नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.७१ प्रतिशतले बढी हो ।

त्यस्तै, कम नाफा कमाएको सिभिल बैङ्कले समीक्षा अवधिमा २९ करोड १८ लाख रुपैंया नाफा गरेको देखिएको छ। उक्त बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा २०१.८८ प्रतिशतको वृद्धि गर्न सफल भएको हो । गत वर्षको सोही अवधिमा सिभिल बैङ्कले ९ करोड ६६ लाख रुपैंया नाफा गरेको तथ्याङ्कले देखाएको छ।

  • सर्वाधिक नाफा वृद्धि गर्ने सिभिल बैङ्क

चालु आर्थिक वर्षको पहिलो ३ महिनाको तथ्याङ्क अनुसार सबैभन्दा बढी सिभिल बैङ्कले आफ्नो मुनाफामा वृद्धि गर्न सफल भएको देखिएको छ । बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा २०१ दशमलव ८८ प्रतिशतले मुनाफा वृद्धि गरेको हो । त्यसै गरी, सिद्धार्थ बैङ्कले ८९.५ प्रतिशत नाफा वृद्धि गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९४ करोड ८७ लाख रुपैंया नाफा गरेको छ। नाफामा उलेख्य वृद्धि गरेको नेपाल एसबीआई बैङ्कले गत वर्षको तुलनामा झन्डै ८६ प्रतिशत नाफा वृद्धि गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड २९ लाख रुपैंया नाफा कमाएको छ।

त्यसै गरी, लक्ष्मी बैङ्कले झन्डै ७७ प्रतिशत र एभरेष्ट बैङ्कले ७३ प्रतिशतले अघिल्लो वर्षको पहिलो ३ महिनाको तुलनामा नाफा वृद्धि गरेको प्रतिवेदन सार्वजनिक गरेका छन् । त्यसै गरी माछापुच्छ्रे बैङ्कले करिब ५६ प्रतिशत, नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कले करिब ५५ प्रतिशत, सानिमा बैङ्कले ५२.१४ प्रतिशत र मेगा बैङ्कले नेपालले ५०.४७ प्रतिशतले आफ्नो खुद मुनाफामा वृद्धि गरेका छन् ।

सर्वाधिक कम नाफा वृद्धि गर्ने बैङ्क अफ काठमाण्डू रहेको छ। उक्त बैङ्कले चालु आ.व.को पहिलो ३ महिनामा २५ करोड ३४ लाख रुपैंया मुनाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा मात्र ५ प्रतिशतले बढी हो ।

  • सर्वाधिक नाफा घटाउने नेपाल बङ्गलादेश बैङ्क

धेरै जसो बैङ्कले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गर्दा चार वाणिज्य बैङ्कहरूले भने गत वर्षको पहिलो त्रैमासको तुलनामा नाफामा गिरावट आएको विवरण प्रकाशित गरेका छन्। चालु आर्थिक वर्षको पहिलो ३ महिनाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नाफा घटाउने नेपाल बङ्गलादेश बैङ्क देखिएको छ । गत वर्षको समीक्षा अवधिको तुलनामा बैङ्कको मुनाफा २७ दशमलव ९३ प्रतिशतले गिरावट आएर ४१ करोड १६ लाख रुपैंयामा सीमित भएको छ । गत वर्षको समीक्षा अवधिमा बैङ्कले ५७ करोड ११ लाख रुपैंया मुनाफा आर्जन गरेको थियो।

त्यसै गरी, प्रभु बैङ्कको नाफामा पनि गिरावट आएको तथ्याङ्कले जनाएको छ। उक्त बैङ्कले चालु आ.व.को पहिलो ३ महिनामा ६३ करोड ६३ लाख रुपैंया मुनाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.१४ प्रतिशतले कम हो । गत वर्षको समीक्षा अवधिमा बैङ्कले ८५ करोड रुपैंया मुनाफा आर्जन गरेको थियो।

त्यस्तै, नाफा घटाएका कुमारी बैङ्क र प्राइम कमर्सियल बैङ्कको नाफा अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा क्रमशः १०.१९ र ३.९ प्रतिशत घटेको छ।

अस्वीकरण: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x