गैर आवासीय नेपालीको ज्ञान, सिप र पुँजीलाई नेपाल भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह


ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको विकास र समृद्धि प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

शनिबारदेखि थाइलेण्डको राजधानी बैंककमा सुरु भएको गैर आवासीय नेपाली सङ्घको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “नेपालमा लगानीको वातावरण छ । यहाँ अनगिन्ती अवसरहरू छन् । प्रकृतिले हामीलाई संसारकै धनी बनाइदिएको छ । त्यसैले अहिले जहाँ जेसुकै काममा रहेका भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ । त्यसका लागि हामीले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सिप र पुँजी हाम्रै नेपाली आमाका लागि खर्चिनुपर्छ ।”

ढकालले सङ्कटमा सबैलाई आफ्नो जन्मस्थानको चिन्ता र चासो रहने हुँदा अहिलेदेखि नै नेपालको विकास, समृद्धि र समुन्नतिका लागि काम गर्न आह्वान गर्नुभयो ।

“कोरोना महामारीको पहिलो लहरका बेला हामी अब त संसार नै सखापै हुन्छ कि भन्ने त्रासमा थियौँ । त्यति बेला विभिन्न कारणले विदेशमा रहेका कैयौँ नेपालीहरू घर फर्किने भनेर नेपाल फर्किनुभएको थियो । ती दृष्टान्तहरू देख्दा सुन्दा लाग्थ्यो हामी अहिले जहाँ जुन रूपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ । आफ्नो जन्मस्थान नै सबैको प्यारो हुने रहेछ,” उहाँले भन्नुभयो ।

गैर आवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सिप तथा पुँजीको ठुलो महत्त्व रहने बताउँदै ढकालले त्यसको केही प्रतिशत भए पनि अहिलेदेखि आफ्नो जन्मस्थानको विकास र समृद्धि प्रयोग गर्न आग्रह गर्नुभयो ।
“हामीले जुन सिप वा प्रविधि सिकी रहेका छौँ त्यसलाई पनि हाम्रो देशको विकासमा लगाऊँ । संसारको कुनाकाप्चामा पुगेर हामीले प्राप्त गरेको सिप या प्रविधिलाई हाम्रो देशको विकासमा लगाऊँ । यसले मुलुकको काँचुली फेर्न सघाउ पुर्‍याउँछ । समृद्धि हासिल गर्न सघाउँछ,” उहाँले भन्नुभयो ।
गैर आवासीय नेपाली र नेपाल उद्योग वाणिज्य महासङ्घको पारिवारिक सम्बन्ध रहेको बताउँदै ढकालले गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्न चाहेमा महासङ्घको तर्फबाट सहजीकरण गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x