हावाबाट बिजुली उत्पादनः गाउँ झिलिमिली

ज्ञानमाण्डू।टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका ४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पाएका छन् । मित्यालमा दुई वर्षअघि नै परीक्षणका रुपमा हावाबाट एक हजार दुई सय वाट क्षमताको बिजुली निकालिएको थियो । अहिले मित्यालको रुक्सेभञ्ञ्याङमा सौर्यबाट १० र हावाबाट १५ किलोवाट बिजुली थपिएको छ । 

टुकीका भरमा दिनचर्या बिताउँदै आएकी स्थानीयवासी झममाया सुनारी विद्युत् सेवा उपभोग गर्न पाउँदा खुशी छिन् । सुनारीले दुर्गम गाउँमा बिजुली बत्ती बाल्न पाइन्छ भन्ने कहिल्यै आशा नगरेको तर गाउँमै हावाबाट बिजुली उत्पादन गरी घर घरमा बाल्न पाउँदा अहिले गाउँ नै झिलिमिली बनेको बताइन् ।

विद्युत् सेवा उपभोग गर्न पाएपछि यहाँका बासिन्दाको दिनचर्या सहज बनेको छ । स्थानीयस्तरमै हावाबाट निकालिएको विद्युत् सेवा मित्यालका काफल, मौलाथर, रुक्सेभञ्ज्याङ र झ्याल्टुङका नागरिकले प्रयोग गर्दै आएका छन् । 

विद्युत् उत्पादन सफल भएपछि यहाँका बासिन्दा थप बिजुली निकाल्न कस्सिएका छन् । हावाबाट बिजुली निकाल्न गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु दुई करोड १५ लाख बराबर खर्च भइसकेको सौर्य तथा वायु ऊर्जा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र सुनारी बताउँछन् । मित्याल आसपासका १४६ घर तथा गाउँपालिका कार्यालय, प्रहरी कार्यालय र विद्यालयले विद्युत् उपभोग गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउँछन् । 

रुक्सेभञ्ज्याङडाँडामा दुई ठूला पङ्खा घुमिरहेका हुन्छन् । सोलार प्यानलसमेत राखेर दुवैबाट बिजुली निकालिएको छ । शुरुमा हावाबाट बिजुली निकाल्ने भन्दा धेरैले अविश्वास गरेका थिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x