जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य शुरु

ज्ञानमाण्डू।जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य मङ्गलबारदेखि सुरु भएको छ । 

विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण सुरु गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाउने छन् भने दोस्रो चरणमा अर्थात् चैत १४ गते काईगाउँमा वितरण गरिने छ । 

इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रति रोपनी रु पाँच लाख ५० हजार र काईगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रति रोपनी रु पाँच लाख १५ हजारका दरले मुआब्जा वितरणको कार्य अगाडि बढेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । 

कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने बताइएको छ । प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम सुरु गरिएको आयोजनाको अबको एक महिनाभित्र विस्तृत परियोजनाको प्रतिवेदन आउने प्रमुख सापकोटाले जनाए । 

बीस महिनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि अहिले छ महिना थपेर विस्तृत परियोजना प्रतिवेदनको कामलाई तीव्रता दिइएको छ । आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । अर्धजलाशयका रूपमा निर्माण कार्य थालिएको आयोजनाको छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

करिब ६.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २० मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको १०० मिटर चौडाइ हुनेछ । छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जिनीयरिङले रु २७ करोडमा लिएको प्रमुख सापकोटाको भनाइ छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउने छन् । सरकारले आफै र स्थानीयवासीलाई शेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । 

डोल्पाको भाग्य र भविष्यसँग जोडिएको आयोजना भएकाले यसलाई छिटोछरितो निर्माणका लागि पहल कदमी जारी रहेको डोल्पाकी सांसद सत्य पहाडीले जानकारी दिए । नलगाड जलविद्युत् आयोजना र जलदुल्ला जलविद्युत् आयोजना निर्माणस्थल एक दिनको फरक दूरीमा छन् । यी दुवै विद्युत् आयोजना निर्माणका लागि ११ केभी प्रसारण लाइन जाजरकोटबाट जोड्ने कामसमेत सुरु भएको पहाडीले बताए ।

भौगोलिकरुपमा निकै जटिल भूवनोट रहेको डोल्पामा विकास गर्दा निकै चुनौती मोल्नुपर्नेछ । विद्युत् उत्पादन गृह र ड्यामस्थलसम्म मात्र अहिले जग्गा अधिग्रहण गरी मुआब्जाको काम सुरु भएको छ । अत्यन्तै चिसो र सफा पानी रहेको यो आयोजना निर्माण कार्य सुरु भएसँगै जग्गाको भाउ बढेको मुड्केचुलाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । 

  • आयोजना निर्माणको बाधक सडक: 

त्रिवेणीदेखि इलसम्म सडक निर्माण गर्नका लागि भएको वोलपत्र आह्वान रद्द भएपछि सडक निर्माण कार्य अलपत्र भएको छ । बजेट सुनिश्चित नहुँदा बोलपत्र आह्वान गरेर पनि रद्द भएको भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख योगेन्द्र धरालाले जानकारी दिए । रु १० करोडमा बोलपत्र आह्वान भए पनि बजेटको सुनिश्चितता नहुँदा समस्या भएको उनको भनाइ छ । अब नयाँ बजेट सुनिश्चित नभएसम्म बोलपत्र आह्वान गर्न नसकिने प्रमुख धरालाको भनाइ छ । सो सडक निर्माणका लागि रु ३० करोडको बजेट छुट्ट्याएर काम सुरु गर्ने तयारीमा रहेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार डिपिआर प्रतिवेदन पहिले नै फाइनल भइसकेकाले बजेट खोजी भइरहेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x