व्यापार तथा आर्थिक सहयोग विस्तारमा जोड

ज्ञानमाण्डू।भूगोलका हिसाबले नजिक भएर पनि नेपाल र बङ्गलादेशबिच अपेक्षाकृत व्यापार एवं आर्थिक सहयोग विस्तार हुन नसकेकोमा अर्थतन्त्रका जानकारहरूले चिन्ता व्यक्त गरेका छन् । 

उनीहरूले सरकारी स्तरमा नै द्विपक्षीय व्यापार प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल विश्व सम्बन्ध परिषद् र यहाँ स्थित बङ्गलादेशी राजदूतावासद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित ‘बङ्गलादेश–नेपाल व्यापार तथा आर्थिक सहयोग’ विषयक कार्यशालामा उनीहरूले जनस्तर र व्यापारी–व्यापारीबाट मात्र व्यापार प्रवर्द्धन असम्भव भएको तर्क गर्दै सरकारी स्तरमा नै विशेष प्रयास हुनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शङ्कर शर्माले ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिरहेको बङ्गलादेशबाट नेपालले सिक्नुपर्ने बताउँदै उक्त देशले औद्योगिक विकासका लागि गरेका संरचनागत सुधारको नेपालले अनुसरण गर्नुपर्ने बताए । उनले बङ्गलादेशले नेपालमा रु ६ अर्ब ३० करोडभन्दा बढी लगानी गर्न चाहेका तर त्यसो हुन नसक्नुको कारण खोजिनुपर्ने विषय जनाए । पूर्व राजदूत शर्माले सूचना प्रविधिका क्षेत्रमा नेपालले पनि उल्लेख्य प्रगति गरेकाले उक्त क्षेत्रमा द्विपक्षीय व्यापार अभिवृद्धि गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए । 

नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर एवं पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले दुई देशबिच पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले सतह मार्गबाट पर्यटकलाई आवागमनको सहज सुविधा उपलब्ध गराउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिए । दैनिक दुई वटा विमानले दुई पटक उडान सेवा गरे पनि अपेक्षितरुपमा द्विपक्षीय पर्यटन प्रवर्द्धन हुन नसकेको उनले बताए । 

नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले बङ्गलादेश–नेपाल व्यापार विस्तारमा दुवै देशका कर्मचारीतन्त्र जिम्मेवार रहेका बताउँदै आपसी व्यापार बढोत्तरीका धेरै क्षेत्रमा दुई देशबिच सहकार्य गर्न सकिने प्रस्ट पारे । 

परिषद्का अध्यक्ष हेमन्त खरेलको सभापतित्वमा भएको उक्त कार्यशालामा सचिव भुवन पाठकले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले बङ्गलादेशी उद्यमी–व्यवसायीलाई यहाँ लगानी गर्न अभिप्रेरित गर्नुपर्ने कुरा जनाएका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x