विश्वभरिबाट नेपालीभाषी साहित्यकार धनगढी आउनेक्रम जारी

ज्ञानमाण्डू।विश्वभरिका नेपालीभाषी साहित्यकारको अपूर्व जमघट हुने विश्व नेपाली साहित्य महोत्सव बुधबारदेखि धनगढीमा सुरु भएको छ । सुदूर पश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित साहित्य महोत्सवमा सहभागिता जनाउन विश्वभरिबाट नेपालीभाषी आउने क्रम जारी छ । 

महोत्सवमा राष्ट्रपति विद्या भण्डारी, राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द, वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्री, भारतको सिक्किम राज्यका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार डा पवन चामलिङ, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, नेपाल सरकारका मन्त्री, विश्वका विभिन्न मुलुकका नेपालीभाषी साहित्यकारसहित ५०० बढीको सहभागिता छ । 

उद्घाटन समारोह तथा महोत्सव अवधिभरि सुदूरपश्चिमका प्रसिद्ध सांस्कृतिक झाँकी– पञ्चेबाजा, गौरा, छलिया, अछामको होरी र रनपुतला, रानाथारुको होरी, सखिया, मुङ्ग्रहवा, हुड्केली, भुवालगायतको प्रस्तुति गरिएको छ । 

महोत्सव अवधिभरि ३० बढी विभिन्न साहित्य सत्र (अन्तरसंवाद), काव्यसभा, सांस्कृतिक कार्यक्रम समावेश गरिएका छन् । आयोजक सुदूर पश्चिमाञ्चल साहित्य समाजका अनुसार साहित्य र राजनीति : अन्तरद्वन्द्व कि अन्तरसम्बन्ध, सङ्घर्ष र सफलताको कथा, लोकसभा नपढिएको विश्वविद्यालय, स्वाभिमानी जातिका स्वाभिमानी पाइला, सहयात्रा : महको मिठास, नेपाली समालोचनाको दशा र दिशा, खतरा छ ? इतिहास र संस्कृति, नेपाली साहित्यमा महाभारतको प्रभाव, हास्यव्यङ्ग्यको झटारो : अप्रियश्चः प्रियताम्, कस्तो छ नेपाल बाहिरको नेपालीभाषी जीवन ? र परिदृश्यमा भोलिको नेपाल विषयमा अन्तरसंंवाद हुनेछ । 

त्यस्तै गजल गुञ्जन : ‘के भुल भयो प्रिया...,’ उमेर संवाद : प्रविधि र पुस्ता, आइबीपछिको दार्जिलिङ, आख्यानमा आञ्चलिकता, लेखनमा लिङ्गीय भेदको सकस, द्वन्द्व र दुःखको उल्झन : नारायण ! नारायण !!, भाषा भावनाको कडी, एकताको आधार, कविताको मुकाम, डायस्पोरामा नेपाली साहित्य : जीवनको पलायन कि भाषाको फैलावट, कविताको आराधना, सङ्गठनले धानेको साहित्य, आख्यानको नयाँ लोक, नेपाली आख्यानको परिभ्रमण तथा बर्माको बोली : माइती देशको कौवा प्यारो शीर्षकमा साहित्य संवाद हुनेछ । 

त्यस्तै साहित्य अन्तरसंवादमा विश्व आकाशमा कहाँनेर छ नेपाली साहित्य ?, आफ्नै परम्परा, सुदूरपश्चिम स्वर्गसरि माया रैजाउ जनमभरि, सांसदका कुरा : कति पूरा कति अधुरा ?, स्वर्णकाल पर्खिएको नेपाली गजल, मेरो गाजल : मेरो गजल, कहर काटिएको जिन्दगी, पश्चिमले गर्ला त पूरा : आख्यानका अधुरा कुरा ?, सीमान्त कथा, साहित्य र राजनीति कति नजिक कति टाढा ?, विद्वताले नधानेको राजनीति, मुख्यमन्त्रीको प्रदेश सपना, सुरमा बगेको सुदूरपश्चिम, सिमान्त सपनाका ऐंठन, कविता मुक्तिको खोजी कि छन्दको बन्धन, टेलिभिजनको क्रेज : हिजो, आज र भोलि, जीवन : पर्दाभित्र पर्दा बाहिर, मन्त्रीका सपना : विकासका योजना, मेरो सपना : मेरो सहर, म झुक्दै नझुक्ने नेपालको छोरो, संस्कृति तथा स्थानीय प्रतिभाको प्रस्तुतीकरण, समृद्धिको सपना र अस्तित्वमा एकता : हिजो, आज र भोलि शीर्षक समावेश गरिएका छन् । 

विश्व नेपाली साहित्य महोत्सवमा सहभागी बन्न नेपालका विभिन्न जिल्ला, सहर तथा भारतका विभिन्न राज्य र अन्य देशबाट नेपालीभाषी साहित्यकार धनगढी आउने क्रम जारी रहेको आयोजक सुदूर पश्चिमाञ्चल साहित्य समाजले जनाएको छ । 

महोत्सवको पूर्व सन्ध्यामा कुराकानी गर्दै समाजका अध्यक्ष रामलाल जोशीले महोत्सवले विश्वभरिका नेपालीभाषीबीच भावनात्मक तथा भाषिक एकता अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले भने , “नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गमस्थल मानिएको काली–कर्णाली क्षेत्रको धनगढीमा विश्वस्तरको नेपाली साहित्य महोत्सव आयोजनाले निश्चय पनि सुदूरपश्चिम प्रदेश र यहाँको भाषा, संस्कृति, सभ्यता तथा कला, वाङमयलाई विश्वभरि स्थापित गर्ने विश्वास लिएका छौँ ।” धनगढीमा मात्रै नभएर नेपालमै यो स्तरको साहित्य महोत्सव पहिलो पटक आयोजना भएको जोशीको भनाइ छ । 

आयोजक मूल समारोह समितिका संयोजक यत्रराज उपाध्यायले महोत्सवमा सहभागी बन्न मङ्गलबार साँझसम्म नेपालको झापा, विराटनगर, काठमाडौँलगायतका सहरका साथै भारतको आसाम, सिक्किम, दार्जिलिङ, केरला, आन्ध्र प्रदेशलगायतका राज्यबाट नेपालीभाषी साहित्यकार धनगढी आइपुगेको जानकारी दिए । 

संयोजक उपाध्यायले भने , “बुधवार बिहान काठमाडौँबाट ५० बढी साहित्यकार आइपुग्नुभएको छ, अन्य शहरबाट समेत साहित्यकार आउने क्रम जारी छ । महोत्सव आगामी २० गतेसम्म सञ्चालन हुनेछ ।” 

धनगढीमा साहित्य महोत्सवको रौनक: 

धनगढीको पुरानो विमानस्थलस्थित खुलामञ्च दुलही झैँ सिँगारिएको छ । ठाउँ ठाउँमा आकर्षक स्वागतद्वार निर्माण गरिएका छन् । पण्डालसहितको भव्य स्टेज बनेको छ । सँगै अर्को सानो स्टेज बनाइएको छ । कार्यक्रमस्थलको पूर्व र उत्तरतिरबाट विश्व नेपाली साहित्य महोत्सवका चार वटा स्वागतद्वार बनाइएका छन् । पश्चिमबाट प्रथम सुदूरपश्चिम खाना महोत्सवको स्वागतद्वार बनेको छ । खाना महोत्सवमा ३६ वटा कक्ष बनेका छन् । ध्वजापताकाले खुलामञ्च झकिझकाउ सिँगारिएको छ । 

महोत्सवमा भाग लिन विश्वभरबाट नेपालीभाषी साहित्यकार धनगढी आउन थालेका छन् । सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष जोशीका अनुसार दार्जिलिङ, सिलिगुढी, आसाम, मेघालयबाट साहित्यकारको टोली मङ्गलबार नै धनगढी पुगिसकेको छ । 

महोत्सवभरि साहित्यिक गोष्ठी र सांस्कृतिक प्रस्तुति: 

महोत्सव अवधिभर विभिन्न साहित्यकार तथा आख्यानकारको संवाद, कार्यपत्र प्रस्तुति, टिप्पणी, अनुभव आदानप्रदान र प्रदेशका विभिन्न जातजाति र जिल्लाको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुति हुने आयोजकले जनाएको छ । सम्मेलनमा करिब १५० जना साहित्यकारको संवाद तथा प्रस्तुति रहने कार्यसूचि तयार भएको छ । 

सँगै खाना महोत्सव: 

विश्व नेपाली साहित्य महोत्सवसँगै सुदूरपश्चिम प्रदेशको मौलिक तथा स्थानीय खानाको प्रवर्द्धन गर्न होटेल व्यवसायी सङ्घले आयोजना गरेको प्रथम सुदूरपश्चिम खाना महोत्सव बुधबारदेखि सुरु भएको छ । खाना महोत्सवमा नौ वटै जिल्लामा अत्यधिक उत्पादन हुने मकै, कोदो, बेथे, फापर, जौका परिकार र प्रदेशमा रहेका विभिन्न जातजातिको खाना महोत्सवका मुख्य आकर्षण रहने आयोजक सङ्घका अध्यक्ष कमल बमले बताए ।

सङ्घले महोत्सवमा २८ वटा खानाका र नौ वटा अन्य वस्तुको कक्ष रहने जनाएको छ । महोत्सवका सबै कक्ष प्रवेश निःशुल्क गरिएको सङ्घका महासचिव केशवदत्त पाण्डेयले बताए । उनले महोत्सव स्थल भने अनुगमन तथा मूल्याङ्कन समितिले तोकेबमोजिमको मापदण्ड पूरा गरेको हुनुपर्ने बताए । 

‘मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना, पर्यटन प्रवर्द्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ आयोजना हुने खाना महोत्सवको समयमा विश्व नेपाली साहित्य सम्मेलन पनि खुलामञ्चमा आयोजना हुने भएको छ । सम्मेलनमा विदेशमा रहने नेपाली साहित्यकारसमेत आउने भएकाले सुदूरपश्चिमको खानाको प्रचार उनीहरुमार्फत विदेशमा हुने र पर्यटक भित्र्याउन सघाउ पुग्ने आयोजकको विश्वास छ । 

सङ्घका अध्यक्ष बमले महोत्सवमा प्रदेशको स्थानीय उत्पादन प्रयोग गरी बनाएर खानाको परिकारलाई प्राथमिकता दिइएकाले प्रदेश बाहिर र विदेशमा समेत ती उत्पादनको माग बढ्ने र स्थानीय उत्पादन निर्यातमा समेत सहयोग पुग्ने विश्वासले महोत्सव आयोजना गरिएको बताए । 

उनले महोत्सवमा राखिएका कक्षबाट सुदूरपश्चिमको मौलिक परम्परा, वेषभूषा, संस्कार र संस्कृति झल्किने बताए । महोत्सवबाट सुदूरपश्चिम प्रदेशको खाना स्वस्थवद्र्धक, जैविक र स्वादिष्ट रहेको विश्वास विदेशसम्म पुर्‍याउने र विदेशी पर्यटकलाई सुदूरपश्चिम आउन लोभ्याउने अध्यक्ष बमको भनाइ छ । महोत्सवमा प्लाष्टिक पूर्णरूपमा निषेध गरिएकाले स्थानीय दुना, टपरी र बोतामा खाना पस्किने व्यवस्था मिलाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x