गाउँमा गाडी गुडेको हेर्ने हुम्लीको धोको


ज्ञानमाण्डू।हुम्लाका ६२ वर्षीय नन्दप्रसाद जैसीले यस वर्ष आफ्नो ठाउँमा सडक पुगेर गाडी गुडेको हेर्ने रहर पूरा हुने आशा गरेका छन् । ताँजाकोट गाउँपालिका–२ का उहाँलाई गाउँबाटै गाडी चढेर सिमीकोट र त्यहाँबाट सुर्खेत झर्ने रहर छ । पहिलो पटक राजपुरमा पुगेर गाडी देखेको बताउने जैसी भन्छन् , “पैसा तिर्न परे पनि गाउँमै गाडी चढ्ने मेरो औधि रहर छ ।” उनले भने, “हामीजस्ता बूढापाकाको आफ्नै गाउँमा गाडी पुगेको हेर्ने र गाडी चडेर सदरमुकाम सिमीकोटसम्म रहर यो सरकारले पूरा गरिदेला कि भन्ने लागेको छ ।” कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्लालाई सडक सञ्जालसँग जोडिए पनि हालसम्म सदरमुकाम सिमीकोट जोडिएको छैन ।

नेपाल सरकारले सबै पालिकाको सदरमुकाम सम्मसम्म कालोपत्र सडकको योजना बनाए पनि अझैसम्म हुम्ला सदरमुकाममा सडक पुगेको छैन । हुम्लाको उत्तरी क्षेत्रका बासिन्दाले एक वर्ष पहिले आफ्नै गाउँठाउँमा गाडी देखे पनि हुम्लाको दक्षिणी क्षेत्रका बासिन्दाका लागि भने यो सपना पूरा हुन पाएको छैन । कतिपयले सुर्खेत वा अन्यत्र कतै जाँदा गाडी देखे पनि यहाँका कतिपय ज्येष्ठ नागरिकले अहिलेसम्म सवारीसाधन नै देखेका छैनन् । उनीहरुमा कर्णाली करिडोर निर्माण अघि बढेसँगै आफ्नै गाउँठाउँमा सवारीसाधन गुडेको देख्ने रहर जागेको छ । 

हुम्लाकै अदानचुली गाउँपालिका–१ का ४९ वर्षीय रुपचन्द्र थापा पनि अरू सबै जिल्ला सडक सञ्जालमा जोडिँदासमेत अहिलेसम्म हुम्ला सदरमुकाम नजोडिएको भन्दै गुनासो गरे । सरकारले अहिलेसम्म यस जिल्ला र यहाँका जनतालाई उपेक्षा गरिरहेको उनको भनाइ छ । तर अब सडकले यहाँको मुहार फेरिने उहाँको आशा छ । आफ्नो ठाउँमा सडक बनेर गाडी नकुदे पनि उहाँले छिमेकी जिल्ला मुगु र बाजुरामा गाडी गुडेको देखेको बताउँछन् । उनले भने, “अहिलेसम्म हामी उताका गाडीका बारेमा सुनेरै बसिरहेका छौँ, हामीकहाँ देख्न पाएनौँ ।” 

कर्णाली करीडोर अन्तर्गतको धुलाचौर लेब्णीदेखि सलिसल्लासम्मको सडक खण्डको निर्माण गर्ने जिम्मा पाएको नेपाली सेनाले हुम्ला र बाजुराको सिमाना कवाडीसम्मको छ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ । कालीकोटदेखि हुम्लाको सलिसल्लासम्म १९६ किलोमिटर सडक निर्माण गर्ने कार्य नेपाली नेपाली सेनाले धमाधम अघि बढाइरहेको छ जसमा हुम्लाको कवाडीदेखि सलिसल्ला सम्म ३९ किमी सडकमध्ये २२ किमीमा छ मिटरको चौडा ट्र्याक खोलिसकेको छ । त्यस्तै १७ किमी सडकमा विस्फोटन भइरहेको छ भने करिडोरको सडकमध्ये हुम्ला जिल्लामा सडक निर्माण ६० प्रतिशत काम भइसकेको नयाँ भैरवी दल गुल्म सिमकोटले जानकारी दिएको छ । 

बाजुरा र हुम्ला जोड्ने कवाडी पुलबाट झन्डै पाँच किमी सडक सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आउँदा आफ्नो गाउँपालिकाका बासिन्दाको जनजीवन सहज हुन थालेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । गाउँपालिकाले आगामी दिनमा सहायक सडकहरु खोल्ने लक्ष्य लिएको छ । उनले भने, “हाम्रो गाउँपालिकामा सडक आउनु विकासको शुरुआत हो, आगामी दिनमा यसलाई अघि बढाइनेछ ।” 

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक विभागले निर्माण गरिरहेको ५१ किमी सडक तीव्र रूपले अघि बढिरहेको जानकारी दिए। कर्णाली करिडोर आयोजना निर्देशनालयले विभागलाई निर्माणका लागि आवश्यक गह्रौँ सामग्री (हेभी इक्युपमेन्ट) ल्याउन नसकिनु समस्याका रूपमा रहेको बताउँदै आएको छ । निर्देशनालयले आगामी असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेकामा ढिलोमा दशैँसम्ममा सम्पन्न भइसक्ने जानकारी दिए । उनले भने, “सिमिकोटसम्म चाँडो सडक पुर्‍याउने हाम्रो पनि लक्ष्य हो ।”

केही समय पहिले मात्र प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति करिडोरको अनुगमनका लागि पुगेको थियो । सडक विभाग र नेपाली सेना दुवैले काम गरिरहेको पाइएको समितिका सदस्य गणेशकुमार पहाडीले बताए । आगामी दशैँसम्म जिल्ला सदरमुकाम जोड्ने लक्ष्य लिइएकाले त्यसैअनुसार निर्माण अघि बढेको छ । सेनाले कालीकोटदेखि हुम्लासम्मको सडकमा काम अघि बढाइरहेको छ भने सडक विभागले सिमिकोटबाट सल्लीसम्मको सडक निर्माण अघि बढाएको छ । उनले भने, “विभागलाई पनि चट्टान फाँडेर सडक निर्माण गर्न सेनाकै सहयोग चाहिन्छ ।” 

हिउँदभर अधिकांश समय निर्माण स्थल हिउँले ढाकिने भएकाले काम गर्न सहज नभएको पहाडीले बताए । सडक विभागले निर्माण अघि बढाइरहेको भए पनि ठूलाठूला चट्टान फुटाउन विस्फोटक पदार्थ चाहिने हुँदा निर्माणमा ढिलाइ हुनसक्ने उनले बताए । विभागले निर्माण गरिरहेका स्थानमा पनि जिम्मेवारी नेपाली सेनालाई नै दिँदा चाँडो हुने स्थानीयवासीले समितिलाई भनेका थिए । उनले भने, “विभागले ठेक्का भएको परियोजनामा तत्काल ठेक्का तोड्न नसकिने बताएको छ ।” 

कर्णाली करिडोर निर्माणका क्रममा आवश्यक सामग्री पुर्‍याउन कठिन भएको सेनाका बलाध्यक्ष रथी गौरव तन्डुलले जानकारी दिए । सेनाले हाल आवश्यक सामग्री चीन हुँदै ल्याउनु परिरहेको छ तर ढुवानीको अनुमतिका लागि कठीनाइ रहेको उनको भनाइ छ । सेनाले कवडादेखि सलिसल्लासम्मको सडक निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ । नेपाली सेनाले जिम्मा पाएको हुम्ला र बाजुराको सिमाना कवाडीदेखि सलिसल्लासम्मको ३९ किलोमिटर मध्य १७ किलोमिटर काम बाँकी रहेको जनाएको छ । 

बलाध्यक्ष रथी तन्डुलले चालू आवभित्रै हुम्ला जिल्लालाई सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ काम अघि बढाइएको जानकारी दिए । असारसम्ममा नै यस करिडोरको कालीकोट जिल्लामा बाँकी पाँच सय मिटर सडक निर्माण गरिने लक्ष्य लिइएको छ । त्यस्तै हुम्ला जिल्लाको गल्फागाड खोलामा १२० फिट लम्बाइको बेलिब्रिज निर्माण भइरहेकामा त्यसलाई सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सलिसल्ला इलाकासम्म १२३ किमी सडक आंशिक रूपमा ट्रयाक निर्माण गर्ने लक्ष्य लिइएको सेनाले जानकारी दिएको छ । 

पहिले प्रस्ताव गरिएको रेखाङ्कनभन्दा केही सुधार गर्न सेनाले सरकारलाई प्रस्ताव गरेको छ । करिडोर कतिपय खण्डमा रेखाङ्कन पहिलेको चलनचल्तीकै बाटोमा भएकाले त्यसको सट्टा कर्णालीको तीरै तीर हुनुपर्ने विकास समितिले पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भनिरहेको छ । हालको रेखाङ्कनभन्दा कर्णाली नजिक हुँदा झन्डै चार दशमलव पाँच किमी छोटो पर्ने भन्दै उक्त मार्ग प्रस्ताव गरिएको समिति सदस्य पहाडीले जानकारी दिए । यसबाट कालीकोट र बाजुराका पिछडिएका क्षेत्रहरू धौलागो, खिन, थिर्पु र साप्टाका नागरिक लाभान्वित हुनेछन् । रेखाङ्कन तल्लो भागबाट हुँदा सडक दुर्घटना कम हुने र गिट्टी, बालुवा, पानीलगायत निर्माण सामग्री सहज रूपमा उपलब्ध हुने सेनाले बताएको छ । 

नेपालको सबैभन्दा पिछडिएको क्षेत्रका रूपमा रहेको कर्णाली र त्यसमा पनि पिछडिएको जिल्ला हुम्लालाई सडक सञ्जालसँग जोड्न विसं २०६९ चैतमा हिलसा–सिमिकोट सडक योजना, हुम्ला स्थापना भएको थियो । ९५ किमी लम्बाइको सडकमध्ये ८७ दशमलव पाँच किमी सडकमा दुई लेन ट्रयाक खोलिइसकेको छ । हिल्सा–सिमिकोट सडक निर्माण सुरु गरिएकामा सरकारले विसं २०७३/७४ मा ५० किमी सिमिकोट–सल्लीसल्लासम्म विस्तारको योजना बनाएको हो । 

हिल्सादेखि सिमिकोट खण्डमा ९५ किमी सडक निर्माणका लागि छ वटा ठेक्का सञ्चालनमा छन् । हिल्सादेखि च्याछङासम्म ७४.९ किमीमा ७१.५ किमी सडकको दुई लेनको ट्रयाक खोलिसकिएको छ । इलिङदेखि सल्लीखोलामा पर्ने कडा चट्टानमा विस्फोटको काम भइरहेको वडाध्यक्ष रथी तन्डुलले बताए । उनले भने , “च्याछङाभिर खण्डको च्याछङाभिर फुटाइसकेको छ भने बाँकी रहेको खण्डमा ड्रिलिङ र विस्फोटनको काम भइरहेको छ ।” 

सिमीकोटबाट सल्लीसल्लासम्म ५० किमीमा तीनवटा ठेक्कामार्फत निर्माण अघि बढाइँदै छ । याङ्चुदेखि भिरगौडासम्मको ठुला चट्टान रहेकामा विस्फोटन भइसकेको छ । बोक्चेगौडामा पनि अहिले ड्रिलिङ भइरहेको सेनाले जनाएको छ । सर्केगाडमा स्थानीयवासीले बालीमा नोक्सानी पुग्ने भन्दै काममा अवरोध पुर्‍याएकामा अझैसम्म समाधान निस्कन सकेको छैन । हाल सर्केगाडमा रहेको कम्प्रशेर मेशिन स्यालतडी र छाहरेमा झार्न लागिएको सेनाले जनाएको छ । 

विसं २०७१/७२ मा करिडोरको कूल अनुमानित लागत दुई अर्ब ८४ करोड १६ लाख ११ हजार रहने अनुमान गरिएको थियो । हालसम्म नेपाली सेनाले रु एक अर्ब १३ करोड खर्च गरिसकेको छ । चालू आवमा सरकारले रु ४० करोड बजेट यो सडकका लागि विनियोजन गरेको छ । चालू आवमा चार वटा पुल निर्माण सुरु भएको छ । यसमध्ये सल्ली पुलमा ढलानको काम अघि बढेको छ भने हेप्का पुलमा जगको काम भइरहेको छ । अरू दुई पुलमा माटो परीक्षणको काम भइरहेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x