३८ वडा भवनविहीन

ज्ञानमाण्डू।गलकोट नगरपालिका–९ को वडा कार्यालय विद्यालयबाट चलेको छ । वडाले भैरव माविलाई मासिक रु. छ हजार भाडा तिर्छ । “विद्यालयका खाली कोठाबाट कार्यालय सञ्चालन भइरहेको छ”, वडाध्यक्ष तेजबहादुर थापाको भनाइ छ । 

निसीखोला गाउँपालिका–३ का सर्वसाधारण सेवा लिन वडा नं ४ पुग्नुपर्छ । ३ र ४ नं वडा कार्यालय एउटै भवनमा छ । “३ नं को आफ्नो भवन छैन, हाम्रो पनि बन्दाबन्दै बिचमा रोकिएको छ”, वडा नं ४ का अध्यक्ष टीकानिधि पौडेलको भनाइ छ  । निर्माणाधीन अवस्थाकै भवनबाट दुई वडा कार्यालय चलेका छन् । 

तमानखोला गाउँपालिका–५ र ६ को वडा कार्यालय सामुदायिक भवनमा छ । वडा नं २ र ४ भाडाको घरबाट सञ्चालित छ । आफ्नै भवन नहुने वडा कार्यालय जिल्लामा यति मात्र छैनन् । 

दश स्थानीय तहका ८५ वडामध्ये ३८ वडा कार्यालय भवनविहीन छन् । भएका भवन पनि जीर्ण अवस्थामा छन् । कुनै वडा कार्यालय भाडाका घरमा छन्, कुनै सामुदायिक भवनमा । निर्वाचन भएको तीन वर्ष बित्न लाग्दासमेत स्थानीय तहले आफ्नै भौतिक संरचना बनाउन सकेका छैनन् । 

सुविधायुक्त भवनको अभावमा स्थानीय तहको सेवा प्रवाह चुस्त र प्रभावकारी हुन सकेको छैन । साँघुरा भवन, कोठाबाट अव्यस्थितरूपमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । सेवाग्राही मैत्री पूर्वाधार र वातावरण छैन । वर्षौँसम्म भाडा तिरेर कार्यालय राख्दा राज्यलाई अतिरिक्त व्ययभार थपिएको छ । 

पुरानो र सदरमुकाम रहेको बागलुङ नगरपालिकामै आधा सङ्ख्यामा वडा कार्यालय भवनविहीन छन् । वडा नं २, ३, ४, ६, ७, ९ र ११ को आफ्नो भवन छैन । केही वडा खाली रहेका अन्य सरकारी भवनको सहयोग लिएर बसेका छन्, केही भाडामा छन् । जैमिनी नगरपालिकाको वडा नं ३, ४ र ६ को भवन छैन । वडा नं. ५ र ९ को जीर्ण छ । 

काठेखोला गाउँपालिकाको वडा नं १, ४, ५ र ६ को वडा कार्यालय भाडामा छ । “भवन नभएका वडामा जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढेको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विकले भने , “एक त जग्गै अभाव छ, जग्गा पाइए पनि सरकारी दरमा पाउन सकिएको छैन ।” 

बडिगाड गाउँपालिकाको २, ६, ७, ८, ९ र १० नं वडा कार्यालयको भवन नभएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले जानकारी दिए । “वडा नं २ को जग्गा छ, भवन बनेको छैन, अहिले सामुदायिक भवनमा बसेको छ”, उनको भनाइ छ । साबिक गाविस विभाजनपछि बनेका नयाँ वडामा भवन नरहेको उनको भनाइ छ । 

कतिपय वडाले तत्कालीन गाविस भवनलाई वडा कार्यालयका रूपमा प्रयोग गरेका छन् । गलकोट नगरपालिकामा १, ६, ९ र ४ नं वडाको भवन छैन । वडा नं ६ र ९ को भवन बनाउन ठेक्का भइसकेको नगरपालिकाले जनाएको छ । तारा खोला गाउँपालिकामा भने ४ नं वडाको मात्रै आफ्नो भवन छैन । उक्त वडाको भवन निर्माणका लागि रु. ७९ लाखको बोल पत्र खुलेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगरले बताए । “गाउँपालिकाको भवन निर्माणका लागि रु साढे चार करोडको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) तयार भएको छ”, उनले भनेका छन् , “सङ्घ, प्रदेश सरकार र गाउँपालिकाकै स्रोत जुटाएर आवश्यक संरचना बनाउँछौँ ।” 

बरेङ गाउँपालिकाका अधिकांश वडाका भवन पनि जीर्ण छन् । वडा नं २ को भवनमा गाउँपालिका कार्यालय बसेपछि वडा भाडाको घरबाट सञ्चालित छ । “वडाका भवनहरू जीर्ण भई पुनः निर्माण गर्नुपर्ने अवस्थामा छन्”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माको भनाइ छ । बरेङमा गाउँपालिकाकै लागि थप भवन आवश्यक छ । 

जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकाको वडा नं २, ३, ४, ६, ७, र ९ को पनि भवन छैन । नगरपालिका कार्यालय पनि भाडाको घरबाट सञ्चालित छ । तमानखोला गाउँपालिका–१ को भवनमा गाउँपालिका कार्यालय छ । वडा नं २, ४, ५ र ६ को आफ्नै भवन छैन । निसीखोला गाउँपालिकाको ३ नं वडा कार्यालय भवनविहीन छ । वडा नं २, ५ र ६ को भवन गाउँपालिकाले यही वर्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । वडा नं ४ को भवन निर्माणाधीन छ । 

जिल्लाका चार नगर र छ गाउँपालिकाका अधिकांश कार्यालयसमेत भाडाको घरबाट चलेका छन् । बेलैमा जग्गा नपाउँदा भवन निर्माणमा ढिलाइ भएको जनप्रतिनिधि बताउँछन् । केही स्थानीय तहले भने जग्गा प्राप्ति र भौतिक संरचना निर्माणको कामलाई अघि बढाएका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x