ग्लोबल आइएमई बैङ्कद्वारा मण्डला चित्र अङ्कित क्यालेन्डर सार्वजनिक

ग्लोबल आईएमई बैङ्क लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको वि.सं. २०८० को क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रवार आयोजित एक कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा बैङ्क सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैङ्कका सञ्चालकहरू रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्र प्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकार द्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्तरुपमा उक्त क्यालेन्डर सार्वजनिक गर्नुभएको छ ।

ग्लोबल आईएमई बैङ्कले हरेक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ ।कार्यक्रममा बोल्दै बैङ्कका अध्यक्ष ढकालले नयाँ क्यालेन्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने बताउनुभयो । 

मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैङ्क स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्नुहुँदै उहाँले आउँदा दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैङ्क प्रतिबद्ध रहेको बताउनुभयो । 

चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकार द्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पार्नुभएको मण्डला चित्रकलालाई क्यालेन्डरमा समाविष्ट गरिएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले जानकारी दिनुभयो ।  

नेपालको मौलिक मण्डला चित्रहरूलाई मुलुकभर क्यालेन्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरूको प्रयास रहेको उहाँको भनाइ रहेको थियो । 

“छरिएर रहेका मण्डला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो”, उहाँले भन्नुभयो, “यसबाट चित्रकला क्षेत्रलाई प्रवर्द्धन हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने हाम्रो अपेक्षा छ ।”

कार्यक्रममा कलाकार द्वयले मण्डला चित्रकलालाई क्यालेन्डरका निमित्त छनोट गरेकोमा बैङ्कलाई धन्यवाद दिनुभएको छ । सो अवसरमा बैङ्क अध्यक्ष ढकालले कलाकार द्वयलाई सम्मानसमेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x