वाणिज्य बैङ्कहरूको नाफा १३.४७ प्रतिशतले घट्यो, कुल नाफा ४० अर्ब अधिक, कुन बैङ्कको कति ?

वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । केन्द्रीय बैङ्कबाट 'क' वर्ग को इजाजत प्राप्त कुल २० वटा वाणिज्य बैङ्कहरूकाे नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४७ प्रतिशतले घटेकाे तथ्याङ्कले देखाएको छ। ७ बैङ्कहरूले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गरेका छन् भने १३ वाणिज्य बैङ्कहरूले गत वर्षको तेस्रो त्रैमासको तुलनामा नाफामा गिरावट आएको विवरण प्रकाशित गरेका छन्।

चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमाससम्मको अवधिमा वाणिज्य बैङ्कहरूले ४० अर्ब ६८ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको मुनाफा ४७ अर्ब १ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा १८ वाणिज्य बैङ्कहरू अर्ब पति क्लबमा सामेल भएका छन्। 

सर्वाधिक नाफा कमाउनेमा नबिल बैङ्क

चालु आ.व.को ९ महिनासम्ममा सबैभन्दा धेरै नाफा नबिल बैङ्कले गरेको छ । बैङ्कले ४ अर्ब ६६ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशतले कम हो ।

त्यसै गरी, ग्लोबल आइएमई बैङ्कले ३ अर्ब ३० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैङ्ककाे गत वर्षको भन्दा २४.१३ प्रतिशतले नाफा घटेकाे हो । त्यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब २७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.५२  प्रतिशतले बढी हो ।

सबैभन्दा कम नाफा नेपाल बैङ्कको

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा सर्वाधिक कम नाफा कमाउने वाणिज्य बैङ्क नेपाल बैङ्क रहेको छ। उक्त बैङ्कले चालु आ.व.को ९ महिनामा १३ कराेड ५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९२.६८ प्रतिशतले कम हो । त्यस्तै, कम नाफा कमाएको माछापुच्छ्रे  बैङ्कले समीक्षा अवधिमा ८५ करोड ५४ लाख रुपैयाँ नाफा गरेको देखिएको छ। उक्त बैङ्कको नाफामा गत वर्षको सोही अवधिको तुलनामा ३६.७३ प्रतिशतले गिरावट भएको छ । 

सर्वाधिक नाफा वृद्धि गर्ने कृषि विकाश बैङ्क

चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्क अनुसार ७ बैङ्कहरूले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गरेका छन् । सबैभन्दा बढी कृषि विकाश बैङ्कले आफ्नो मुनाफामा वृद्धि गर्न सफल भएको देखिन्छ । बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा ९७ दशमलव २२ प्रतिशतले मुनाफा वृद्धि गरेको हो ।

त्यसै गरी, अघिल्लो वर्षको तुलनामा लक्ष्मी सन्राइज बैङ्कले २७.७१ प्रतिशत, प्राइम बैङ्कले १६.६६ प्रतिशत, सिद्धार्थ बैङ्कले १३.०१ प्रतिशत, हिमालयन बैङ्कले १२.०४ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कले ७.५२ प्रतिशत र एभरेष्ट बैङ्कले ५.७७ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको देखिन्छ।


सर्वाधिक नाफा घटाउने नेपाल बैङ्क

१३ वाणिज्य बैङ्कहरूले भने गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा नाफामा गिरावट आएको विवरण प्रकाशित गरेका छन्। तथ्याङ्क अनुसार सबैभन्दा धेरै नाफा घटाउनेमा नेपाल बैङ्क देखिएको छ ।  बैङ्कको मुनाफामा ९२.६८ प्रतिशतले गिरावट आएर १३ करोड ५ लाख रुपैयाँ रहेको छ । गत वर्षको समीक्षा अवधिमा बैङ्कले १ अर्ब ७८ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

त्यस्तै, धेरै नाफा घटाएका एनआईसी एशिया बैङ्क, माछापुच्छ्रे  बैङ्क, नेपाल एसबीआई बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कको नाफा अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा क्रमशः ५२.३१, ३६.७३, ३५.४४, र ३३.६० प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x