नेपाल र कोरिया बिचको व्यापार सन्तुलन मिलाउन लगानी साझेदारीका लागि कोरियाली लगानीकर्ताहरूसँग अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गर्नु भएको छ ।

आज काठमाडौँमा आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगण्य रहेकाले व्यापार सन्तुलन मिलाउन जरुरी भइसकेको बताउनु भएको हो ।

अध्यक्ष ढकालले  ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी  गरी मुख्य  चार क्षेत्रहरूमा लगानी साझेदारी बढाउन सकिने बताउनु भयो । यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यही क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकोले दुवै देशलाई विनविनको अवस्था सृजना हुने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

नेपालमा ठुलो लगानीका ३ सय ५० भन्दा बढी कोरियाली उद्यमहरू भएकाले पनि नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य भइसकेको छ । यसरी बढ्दो साझेदारीलाई थप विस्तार गरी अत्याधुनिक कोरियाली प्रविधि र  नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको मेल गराउने समय आएकोमा पनि अध्यक्ष ढकालले जोड दिनु भयो ।

नेपालले विकासोन्मुख देशको रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न  पनि कोरियासँगको साझेदारी महत्त्वपूर्ण रहने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा नेपाललाई दक्षिण एसियामा व्यापार र वाणिज्यको केन्द्र बन्न सहयोग पुग्ने पनि बताउनु भयो ।

केही नेपाली बैङ्क कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन पनि अध्यक्ष ढकालले आग्रह गर्नु भयो । औपचारिक र सहज बैङ्किङ कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्छ ।

ग्रिन फाइनान्समा कोरियाको अनुभव र नेतृत्वबाट नेपालले फाइदा लिनु पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले  निजी इक्विटी र  नयाँ नयाँ उद्यममा यस्तो पुँजी परिचालनमा कोरियाले सघाउनु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरूमा पनि काम गर्नु पर्ने अध्यक्ष ढकालले बताउनु भयो ।

त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपाल आउन,  अवसर खोज्न र लगानीको  सहज  वातावरण बनाउन महासङ्घले सहयोग गर्न तत्पर रहेको प्रतिबद्ध रहेको पनि अध्यक्ष ढकालले बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x